प्रेस स्वतन्त्रता संरक्षणका लागि कांग्रेस संघर्षमा

काठमाडौं । संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक यथावस्थामा अघि बढाइए मुलुकमा अप्रिय स्थिति उत्पन्न हुने चेतावनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिएको छ । विधेयकमा भएका संविधानको भावनाविपरीतका प्रावधान यथाशीघ्र हटाउन माग गर्दै नेपाली कांग्रेसले भनेको छ– ‘यो विधेयक यथावस्थामा पारित गरियो भने प्रेस स्वतन्त्रता कुण्ठित हुनेछ, प्रेस स्वतन्त्रता कुण्ठित हुनु भनेको नागरिकको मौलिक हक कुण्ठित हुनु हो, त्यसैले यो विधेयकलाई रोक्न नेपाली कांग्रेसले हदैसम्मका उपाय अवलम्बन गर्नेछ ।’

आइतबार पार्टी कार्यालय सानेपामा विशेष पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी ढंगले अघि बढेको भन्दै त्यसका लागि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अभियानमा लागेको बताए । उनले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको ‘मिडिया काउन्सिल विधेयक’मा पत्रकारलाई सत्तारुढ पार्टीका झन्डे कार्यकर्ताले दण्डित गर्नसक्ने गरी राखिएका बुँदाका विषयमा आफूहरूले सदनमा कडा विरोध जनाउने बताए । लोकतन्त्र र प्रेस स्वतन्त्रताको घाँटी जोडिएको उल्लेख गर्दै सभापति देउवाले भने– ‘लोकतन्त्र समाप्त गर्ने नियतवश यस्तो विधेयक ल्याइएको हो कि भन्ने आशंंका उत्पन्न भएको छ ।’

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा समाचार लेख्ने क्रममा पत्रकारबाट कहिल्यै पनि र कुनै पनि त्रुटि हुनेछैन भनेर अलौकिक परिकल्पना गर्न नसकिने उल्लेख गर्दै भनिएको छ– ‘त्यस्तो त्रुटि हुँदा प्रेस काउन्सिलले निश्चित विधि, प्रक्रिया र आचारसंहिताको हेक्का गराउँदै आएकै थियो र अर्धन्यायिक हैसियतसाथ न्यायोचित समन्वयको अभ्यास र प्रयत्न गरी आएको थियो । तर, विधेयकले सोझै भारी अंकको जरिवाना तय गर्नु न्यायोचित बिलकुलै छैन नै, काउन्सिलको विश्वव्यापी स्थापित परम्पराभन्दा विल्कुलै विपरीत छ ।’ विश्वव्यापी रुपमा प्रेस सम्बन्धमा दुई मापदण्ड रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘पहिलो, जहाँ लोकतन्त्रको समुन्नत अभ्यास छ, त्यहाँ प्रेसले निर्वाध काम गर्न पाएको छ र आफ्ना लागि आचारसंहिता आफै तय गरेको छ । दोस्रो, जहाँ अधिनायकवाद छ, त्यहाँ प्रेसलाई सरकारले या त सोझै नियन्त्रण गरेको छ या अनेक कानुन निर्माण गरेर घुमाउरो ढंगले नियन्त्रणमा राखेको छ । नेपाली कांग्रेस सोध्न चाहन्छ– दोस्रो बाटो हिँडेर सरकारले आफूलाई लोकतान्त्रिक सिद्धान्त र संस्कारको दाबी गर्न कसरी सक्छ ?’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गणतन्त्र कम्युनिस्टहरूले मात्र लडेर ल्याएको नभई सञ्चारको विकासमा पत्रकार जगत आफैं लडेको उल्लेख गरे । २०४८ सालमा कांग्रेस नेतृत्वको सरकारले स्थापना गरेको प्रेस काउन्सिलको ऐनबाट स्वायत्तता र स्वतन्त्रता हटाएर कम्युनिस्ट सरकार निरंकुश ढंगले अघ बढ्न लागेको उनको भनाइ थियो । सरकारको यो कदमको कांग्रेसले कडारूपमा प्रतिवाद गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *