नेपाली दूतावासमा नेपाल लगानी सम्मेलन
शिव भण्डारी ,लण्डन । लन्डनस्थित नेपाली दूतावासमा नेपाल लगानी सम्मेलन शृंखला अन्तर्गत छैठौं कार्यक्रम आयोजना गरियो , तथा यूके नेपाल फ्रेंडशिप सोसाइटीसंगको सहकार्यमा आयोजित सम्मेलनमा नेपालमा व्यापार तथा पर्यटन प्रवर्धनमा जोड दिईएको थियो।
समारोहका प्रमुख अतिथि तथा लन्डनका लर्ड मेयर पिटर एस्लिनले नेपालमा जल विद्युत, पूर्वाधार तथा फोहर व्यबस्थापन लगाएतका क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरु इच्छुक रहेको बताए। उनले यसअघि आफुले दुइ पटक नेपालको भ्रमण गरिसकेको र आउँदो सेप्टेम्बर महिनामा फेरी नेपालको भ्रमणमा जान लागेको बताए।
नेपालको विकासमा सघाउन आफुहरु तयार रहेको उनले दोहोराए। बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले राजनीतिक स्थिरताका कारण वैदेशिक लगानीका लागि नेपाल एउटा आकर्षक गन्तव्य बनेको र गत मार्च महिनामा काठमाडौँमा सम्पन्न लगानी सम्मेलनले लगानीकर्ताहरुका लागि उत्साहको वातावरण सिर्जना गरेको बताए। उनले आउँदो वर्ष नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सपरिवार नेपालको भ्रमण गर्न ब्रिटिश मित्रहरुलाई आग्रह पनि गरे।
अल्डरशटबाट प्रतिनिधित्व गर्ने साम्सद लियो डोचर्टीले आफ्नो निर्वाचन क्षेत्रमा झन्डै १५,००० भूतपूर्व गोर्खा तथा तिनका परिवार बसोबास गरिरहेको बताए। उनले यो ब्रिटेनमा आप्रवासी समुदायको अत्यन्त सफल एकीकरणको एउटा उदाहरण भएको पनि बताए। त्यस्तै रसमुर बरो काउन्सिलका लिडर डेविड क्लिफोर्डले नेपालीहरुको मिलेर बस्ने बानीको प्रशंसा गरे। परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुधन ज्ञवालीले ब्रिटेन र नेपाल बीचको ऐतिहासिक सम्वन्ध २१ औं शताब्दीमा अरु बलियो हुँदैगएको बताए।
यूके नेपाल फ्रेंडशिप सोसाइटीका अध्यक्ष एलन मार्सेल स्यांकाले सन् २०२१ मा ब्रिटेनमा गर्न लागिएको जनगणनामा नेपालीहरुलाई छुट्टै समुदायको रुपमा गणना गर्न लागिएको जनाए। कार्यक्रममा व्यापार तथा लगानी सम्वन्धि विभिन्न प्रश्तुति पनि गरिएको थियो। आफ्नो प्रश्तुतिमा फार्नबरो स्थित कम्पनि जिनार्जीका प्रमुख कार्यकारी अधिक्रीत सेवानिवृत्त मेजर टिकेन्द्र दल देवानले बेलायतको अत्यन्त प्रतिस्पर्धी उर्जा बजारमा पनि आफुहरुले ग्राहकहरुको मन जित्न सफल भएको बताए।
उनले झन्डै पांच वर्ष अघि भूतपूर्व गोर्खाहरुले स्थापना गरेको कम्पनीले ग्राहकहरुको घरघर मै ग्यास तथा विद्युतको सुपथ र भरपर्दो सेवा प्रदान गरिरहेको बताए। उनले ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका सदस्यहरुले नेपालमा सार्दी १ र सार्दी २ जलविद्युत योजनाहरुमा लगानी गरेको र ती योजनाको निर्माणमा कुनै वाधा खेप्नु नपरेको पनि बताए।
बेलायतमा इंगलिश र नेपाली फुटबल टोली भिड्ने इंगल्याण्ड फुटबल एसोसियसनको न्यास्नल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले आउँदो वर्ष ३० मे २०२० मा इंगल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फूटबल टिम बीच बेलायतमा ऐतिहासिक खेल हुने जनाएका छन् ।
नेपाली दूतावासमा आयोजित समारोहमा बोल्दै जोन्सले सन् २०२१ मा इंगलिश फुटबल टोलीले नेपालको भ्रमण गर्ने पनि बताए। उनले इंगल्याण्ड फुटबल एसोसियसनले नेपालमा फुटबलको विकासमा सघाउन एन्फालाई प्राविधिक सहयोग तथा परामर्श दिने पनि बताए।

















