काठमाण्डौ, ६ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका)लाई प्रहरीले गिरफ््तार गरेको छ । उनलाई शुक्रबार दिउसो महाराजगञ्जबाट गिरफ््तार गरिएको हो ।
विप्लवका पोलिटब्यूरो सदस्य असारे काका गिरफ्तार
विभिन्न आयोजनाहरुमा राष्ट्रघाती सम्झौता गर्न मुख्य भूमिका खेलेको भन्दै त्यसको विरोध स्वरुप नेपाल लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घर घेराउ कार्यक्रमबाट उनलाई गिरफ्तार गरिएको हो । भ्रष्टाचार, कमिसनखोरी, दलाली, महंगी तथा कालोबजारीका विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको नेकपा माओवादीले आज पन्तको घरमा कालोझण्डा गाड्ने र विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो ।
सोही कार्यक्रममा गएका माओवादीका पोलिटब्यूरो सदस्य तथा नेवा राज्य इन्चार्ज असारे काकालाई प्रहरीले गिरफ्तार गरेको हो । पन्तको घर घेराउ गर्ने क्रममा केहीबेर प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको थियो । करिव ५ सय कार्यकर्ताहरुले नारावाजी गर्दै पन्तको घरको कम्पाउण्ड घेरेका थिए । उनीहरुले राष्ट्रघाती सम्झौतामा भूमिका नखेल्न र त्यसको शिकार नहुन पनि आग्रह गरेका थिए ।






