अब विदेशमा उपचार गर्न वीर अस्पतालको सिफारिस अनिवार्य

काठमाडौं, ६ चैत । उच्च सार्वजनिक ओहोदामा रहेका व्यक्ति तथा नेताहरुले सरकारी खर्चमा विदेशमा उपचार गराउनु परेमा अब वीर अस्पतालको स्वीकृति अनिवार्य रुपमा लिनै पर्ने भएको छ ।
स्वास्थ्य उपचारका नाममा पहुँवालाहरुले राज्यकोषबाट करौडौं रुपैयाँ लिएर विदेशमा उपचार गराउने प्रवृति बढेपछि यस्तो व्यवस्था गरिएको हो । स्वास्थ्य मन्त्रालयले लगेको यस्तो प्रस्तावलाई विहीवारको मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

अब कुनै पनि नेता वा उच्च ओहोदाका व्यक्तिले सरकारी खर्चमा विदेशमा उपचार गराउन जानुपरेमा सबैभन्दा पहिले वीर अस्पतालको मेडिकल बोर्डको सिफारिस लिनुपर्नेछ ।

‘वीर अस्पतालको मेडिकल बोर्डले यो रोग वा रोगीको उपचार नेपालमा सम्भव छैन भनेर लिखितरुपमा सिफारिस गरेपछि मात्रै सरकारले आर्थिक सहयोगको फाइल अघि बढाउन पाउनेछ’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

स्वास्थ्यमन्त्री खगराज अधिकारीले नेपालमा भएका अस्पतालबाट मानव स्वास्थ्य सम्बन्धी कुनै पनि रोगको उपचार सम्भव रहे पनि नेपाली चिकित्सकलाई विश्वास नगर्ने प्रवृति बढेको बताए ।

नेपालका कुनै पनि अस्पतालमा उपचार सम्भव नरहेको र विदेशको अस्पतालमा सम्भव रहेको भनेर किटानी गरेपछिमात्रै नेतालाई आर्थिक सहायताको प्रक्रिया अघि बढ्नेछ

मन्त्री अधिकारीले नेपालका चिकित्सक विश्व बजारमै उत्कृट रहेको भन्दै अब उपचारका नाममा विदेशमा गएर देशको ढुकुटी रित्याउने प्रवृति अन्त्य हुने बताए ।

‘स्वदेशमै राम्रो उपचार सम्भव छ’ उनले भने ‘सम्भव नभएको हकमा वीर अस्पतालको मेडिकल बोर्डले सिफारिस गर्नुपर्छ’ ।

नेता तथा उच्च पहुँचवालाले उपचारका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ लिएको खोजमूलक समाचार सबैभन्दा पहिले अनलाइनखबरले प्रकाशन गरेपछि यो विषयमा जनताको तहबाट व्यापक विरोध भएको थियो ।

सामान्य रोगको उपचारका लागि पनि नेता, मन्त्री र उच्च ओहोदाका व्यक्तिहरुले विदेशका अस्पताल ताक्ने र उनीहरुको उपचारमा राज्यले लाखौ मात्र होइन, करोडौंसम्म आर्थिक सहयोग दिने प्रवृति बढेको छ ।

जनता र सभासदको तहबाट व्यापक विरोध र दबावपछि सरकारले नयाँ निर्देशिका पारित गरेको जानकारी आफूले पनि पाएको लेखा समिति सदस्य तथा सभासद रामहरि खतिवडाले बताए । ‘अनलाइनखबरबाट यो विषय बाहिर आएपछि हामीले संसद र समितिमा पनि यो कुरा उठाएका थियौं’ उनले भने ।

वीर अस्पतालमा विशिष्ठ र अति विशिष्ठ व्यक्तिको उपचारका लागि अलग्गै वार्ड नै व्यवस्था गरिएको छ

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेतृ उर्मिला अर्याल, कांग्रेस नेता गोविन्दराज जोशीलगायतको उपचारमा राज्यकोषबाट करोडौं रुपैया खर्च भइसकेको छ ।

मन्त्रिपरिषदबाट नयाँ निर्देशिका पारित भइसकेपछि अब वीर अस्पतालको मेडिकल बोर्डले नेपालका कुनै पनि अस्पतालमा उपचार सम्भव नरहेको र विदेशको अस्पतालमा सम्भव रहेको भनेर किटानी गरेपछिमात्रै नेतालाई आर्थिक सहायताको प्रक्रिया अघि बढ्नेछ ।

भीआइपीको छुट्टै वार्ड

वीर अस्पतालमा विशिष्ठ र अति विशिष्ठ व्यक्तिको उपचारका लागि अलग्गै वार्ड नै व्यवस्था गरिएको छ । यो वार्डमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल बाहेक अरु भर्ना नभएको अस्पताल स्रोतले जनाएको छ ।

यस्तै सुबिधा त्रिवि शिक्षण अस्पतालमा पनि गरिएको छ । तर, नेता र उच्च ओहोदाका व्यक्तिहरु सरकारी अस्पतालमा विरलै उपचार गराउँछन् । यसअघि एमाले नेता माधव नेपालले भने वीर अस्पतालमा उपचार गराएका थिए ।