किन डराए शेखर ? भने, ‘देउवासँग प्रतिवाद गर्दिनँ’

काठमाडौँ– काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग कुनै प्रतिवाद नगर्ने बताएका छन् । तर, कोइरालाले आफ्नो अडान भने नछाड्ने दोहोर्याएका छन् ।

सभापति शेरबहादुर देउवा र कोइराला परिवारका सदस्यहरुबीच पछिल्लो समय पार्टीमा आगामी नेतृत्व कसले गर्ने भन्ने विषयमा सार्वजनिक रुपमै आरोप प्रत्यारोप चल्दै आएको छ ।

आगामी १४ औं महाधिबेशनमा कोइराला परिवारले सभापति पदमा देउवाविरुद्ध उम्मेदवारी दिने बताएपछि सभापति शेरबहादुर देउवा कोइराला परिवारका सदस्यहरुमाथि खनिएका थिए ।

बुधबारमात्रै विरगञ्जमा आयोजित एक कार्यक्रममा कोइराला परिवारमाथि खनिएका देउवाले भनेका थिए ‘काँग्रेस कोइराला परिवारको वपौती होइन’ तर काँग्रेस नेता शेखर कोइरालाले सभापति देउवाले दिएको उक्त अभिव्यक्तिको आफुले प्रतिवाद नगर्ने बताएका छन् ।

संक्षिप्त कुरा गर्दै कोइरालाले भने, ‘सभापति देउवाको अभिव्यक्तिप्रति मैले कुनै प्रतिक्रिया दिइरहनुपर्छ जस्तो लाग्दैन । उहाँले कुन प्रशङ्गमा के कुरा भन्नुभयो ? त्यसतर्फ जान पनि चाहान्नँ, तर म आफ्नो निर्णय र अडानबाट पछि हट्दिनँ ।’

नेता कोइरालाले आफू र देउवाबीच आज भेटघाट हुने र त्यसैवेला कुरा गर्ने पनि बताए । ‘आज बैठक छ । त्यहाँ उहाँसँग भेटघाट हुन्छ । त्यहीँ कुरा गर्छु । तर, म यो विषय उचाल्न चाहान्न र प्रतिवाद पनि गर्दिनँ । म त्यो राजनीतिक संस्कारबाट हुर्केको व्यक्ति पनि होइन’ नेता कोइरालाको भनाई थियो ।

बुधबारको कार्यक्रममा सभापति देउवाले शेखर कोइरालाले जथाभावी बोल्दै हिँडेकाले अनुशासनको कारवाही गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *