लन्डन । बेलायतमा बसोबास गर्ने तामाङ हरुले आफनो महान पर्व ल्होछार मनाएका छन् । तामाङ समाज यूकेको आयोजनामा २८५५ औं फाग ल्हो सोनाम ल्होछार भब्य रुपमा मनाएका हुन ।
लन्डन हयारो बरो फुटबल क्लबमा आयोजना गरिएको कार्यक्रममा बेलायतका विभिन्न शहरबाट तामाङ समुदायको बाक्लो सहभागिता रहेको थियो ।
धार्मिक पूजा, नेपालबाट आएका राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको गायन, तामाङ सेलो आदि प्रस्तुतिले कार्यक्रम रंगीन बन्यो । 
आशिष तामाङ वाइवा र उमा डुम्जन तामाङले संचालन गरेको कार्यक्रममा तामाङ समाज यूके अध्यक्ष कुमार स्याङतानको सभापतित्व र एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी फगामी, विशेष अतिथी हाउन्स्लो बरो काउन्सिलर विष्णु गुरुङ, तामाङ सोसाइटी यूके अध्यक्ष अन्जु योन्जन, तामाङ घेदुङ रेडिङ अध्यक्ष प्रेम घिसिङ तामाङ, मेहेन्दो माया यूके महासचिव बम ब्लेन्देन, ला मेहेन्दो तामाङ सोसाइटी अफ लन्डनका उपाध्यक्ष आइतसिंह मान्बा तामाङ, तमु समाज यूके अध्यक्ष शिवचन्द्र गुरुङ, संघीय समाजवादी पार्टी तथा गेसोका धर्म तामाङ, युवा नेता तस्विर लामा, समाजसेवी ध्रुव केसी लगायत अतिथीहरुले ल्होछार शुभकामना दिंदै प्रवासमा आफ्नो कला, संस्कृति जोगाइराख्न यस्ता कार्यक्रम अपरिहार्य भएको बताए ।
कार्यक्रममा एनआरएन यूके महासचिव आर के त्रिपाठी पत्रकारहरु नबिन पोखरेल,शिब भण्डारी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि हरुको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु यूबी मोनग्रेसा, सुभाष तामाङ, अमृत गुरुङ लामा, बिरु गोम्जा, अनिल गुरुङले विभिन्न गीत गाएर दर्शक नचाए । स्थानीय कलाकारहरुले पनि गायन तथा नाच प्रस्तुत गरेका थिए ।
कार्यक्रमको शुरुमा जोया बम्जन, सिमा ब्लोन, जस्मिन लामा, अन्ना स्याङबो लगायतले तामाङ गीत ‘लास्सो फ्याफुल्ला’ बोलको स्वागत गीत गाएका थिए । आरती बम्जन, सुकु तामाङ, अनु तामाङ, कुमारी तामाङले आकर्षक नृत्य गरे । अनिल स्याङबोले ‘सेलो ल्होछाल मेला’ गीत गाए । हाउ फन्नी चलचित्रको गीत ‘शिरैमा शिरबन्दी‘’ मा सुकु तामाङ, अनु तामाङ र कुमारी तामाङले आफ्नो नृत्य कला देखाए ।
साउण्ड सिस्टम तथा डिजे चांद म्यूजिक वल्डका चांद लामा र विशाल मोक्तानको व्यवस्थापनमा भएको थियो । सोही कार्यक्रमको अवसर पारेर समाजलाई योगदान गर्ने सदस्यहरु र कलाकारहरुलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको स्थलगत भिडियो रिपोर्ट–शिब भण्डारी






