गणेश पाण्डेय
लिस्बोन। पोर्तुगलको राजधानी लिस्बोनबाट करिब १२० किलोमिटर टाढा रहेको अलन्तेजोको शान्ता सुसाना क्षेत्रमा यूरोपकै सबैभन्दा ठुलो तिबेतियन बौद्ध स्तुपा खडा गरिएको छ ।
स्तुपासँगै थुप्तेन फुन्त्सोग ग्यापेल लिङ् रिट्रिट सेन्टर रहेको छ । शान्ता सुसाना गाउँको अल्सेसर दो सालमा अवस्थित सन् २०१५ मा निर्मित यो बौद्ध स्तुपा युरोपकै ठुलो बुद्ध मन्दिर मानीन्छ ।
टासी गॊमाङ् स्तुपामा प्रमुख लामा गुर्मे रहेका छन । सन् १९६८ अर्थात् बादर बर्ष भनौ वा गुरु रिम्पोचे बर्षमा जन्मिएका लामा गुर्मेको जन्मको नाम पेद्रो अलेकजेंद्र पाइभा हो। मध्यबर्गीय परिवारमा जन्मिएका पेद्रोले सानैदेखि परिवारमा पाएको सामाजिक, दर्शन शिक्षाले उनलाई लामा गुर्मे बनायो।
लामा गुर्मेसँग २० बर्षभन्दा लामो बुद्धिष्ट ज्ञानको अध्ययनको अनुभव छ। शेर्पा समाज पोर्तुगलले बिगत तिन बर्षदेखि ग्याल्बो लोसार मनाउने क्रममा यही स्तुपामा पुजाआजा गरिदै आइएको छ । ग्याल्बो लोसार स–मो फाग्लो २१४६ मनाउने क्रममा शेर्पा समाज पोर्तुगलले ५ फेब्रुअरीमा आयोजना गरिएको लोसार ल्हप्सो पुजा कार्यक्रम यही सम्पन्न गरियो ।
लोसार ल्हप्सो पुजामा शेर्पा सोसाईटी पोर्तुगलका अध्यक्ष वाङ्गेल शेर्पा, निबर्तमान अध्यक्ष सोम फुरी शेर्पा, एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्की, मगर समाज पोर्तुगलका अध्यक्ष चोप कुमार मगर , तामांग समाजकी उपाध्यक्ष प्रितु योञ्जन, एन आर एन ए पोर्तुगलका उपाध्यक्ष गोबिन्द सापकोटा, शेर्पा सोसाईटी युरोपका महासचिव पेम्बा गेलु शेर्पा लगायत पत्रकारहरु सहित सयौको सहभागिता रहेको थियो ।






