- शिव भण्डारी
लन्डन । तमु धीं युकेले विविध कार्यक्रमहरुसहित तमुहरुको तमु ल्होसार पर्व मनाएको छ ।
रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा तमु (गुरुङ) हरुको मौलिक, साँस्कृतिक एवं ऐतिहासिक महान पर्व ‘तमु ल्होसार’ धुमधामसँग मनाएको हो । कार्यक्रममा प्रमुख अथिति गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले युकेमा बसिरहेका नेपालीहरुलाई नेपाल फर्केर नेपाल आमाको सेवा गर्न निम्तो दिए । विदेशमा ज्ञान, सीप सिकेर त्यसलाई नेपालमा उपयोग गर्न उनले आह्वान गरे । विदेशमा आर्जन गरिएको सम्पत्तिलाई नेपालमा लगानी गर्न आग्रह गर्दै उनले अब नेपालमा लगानीको सुरक्षाको ग्यारेण्टी भएको बताए । 
कार्यक्रममा ल्होछार’ को शुभकामना धर्म गुरु खेम्पो सन्तोष गुरुङले दिएका थिए भने हेल्थ एण्ड सेफ्टीका बारेमा तमु धी युकेका सल्लाहकार क्याप्टेन देव घलेले जानकारी दिएका थिए ।यसैगरी कार्यक्रममा तमुधिँ युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङकी दिवंगत आमाको सम्झनामा श्रद्धाञ्जली दिंदै १ मिनेट मौनधारण पनि गरिएको थियो ।
कार्यक्रमको उद्घाटन तमुधिं युकेका नव निर्वाचित अध्यक्ष नन्द गुरुङ, प्रमुख अतिथि मन्त्री किरण गुरुङ, विशेष अथिति लण्डनस्थित नेपाली दूतावासका महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदी , धर्मगुरु खेम्पो सन्तोष गुरुङले पानसमा बत्ती बालेर गरेका थिए ।
कार्यक्रममा फ्रेंसी पत्रिका विमोचन समेत गरिएको थियो ।
सोहि अवसरमा संस्थाको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिएको थियो । तत्पश्चात नवनिर्वाचित अध्यक्षनन्दजंग गुरुङले पवित्र उद्देश्य राखेर समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै युवाहरुलाई प्राथमिकतामा राखी काम गर्ने र अझ निकट सम्बन्ध बनाएर जाने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपालबाट आएका कलाकार, स्थानीय नेपाली कलाकार, इकाईको विकासमा महत्वपूर्ण योगदान दिएका विभिन्न व्यक्तित्वलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो जसको सञ्चालन सुर्य गुरुङ ,योगेश गुरुङ ,संजु घले र शशि गुरुङले गरेका थिए ।
त्यसबाहेक कार्यक्रममा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने वेशभूषा र नाचगान प्रदर्शन गरिनुका साथै अन्य स्थानीय कलाकारका गीत, नृत्यसहित विशेष प्रस्तुति रहेको थियो ।
कार्यक्रममा तमुधिं युकेको निमन्त्रणामा नेपालबाट आएका चर्चित गायक टंक बुढाथोकी ,गोविन्द गुरुङले विभिन्न चर्चित गीतहरु गाएका थिए ।
तमुधिं युकेका अध्यक्ष नन्दजंग गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा मन्त्री किरण गुरुङ, विशेष अथिति लण्डनस्थित नेपाली दूतावासका महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदी , धर्मगुरु खेम्पो सन्तोष गुरुङ, लामा खुसीमान गुरुङ तमुधिं युकेका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य, विभिन्न ईकाईका अध्यक्ष तथा पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।




हेर्नुहोस भिडियो :
https://www.facebook.com/londonnepalnews/videos/327710441151579/?t=4






