काठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो।
ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले जानकारी दिए।
एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक भएको हो ।
परीक्षा सञ्चालन हुनेबित्तिकै उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुर्याउन लाग्ने समय, परीक्षण केन्द्रमा परीक्षण गर्न लाग्ने समय तथा परीक्षण गरेपछि कति दिनभित्रमा केन्द्रमा नतिजा पठाउनेसम्मका कार्ययोजना बनाइएकाले काम छिटो भएको काप्रीले बताए।







