सभासद्लाई खटाइयो भूकम्प प्रभावित जिल्लामा

sambad-samiti-new-supe

काठमाडौं । हालै गएका शक्तिशाली भूकम्पपछि भइरहेका राहत वितरण, उद्धार र पुर्निनिर्माणबारे अनुगमन गर्न भूकम्प प्रभावित जिल्लाहरुमा सभासद्हरुलाई शुक्रबारदेखि खटाइएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ सभापति रहेको राष्ट्रिय विपत् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको निर्णय अनुसार शुक्रबारदेखि चारचार जनाको टोली बनाई अतिप्रभावित १४ जिल्लामा सभासद्लाई खटाएको हो ।
भूकम्प प्रभावित क्षेत्रका सभासद्लाई पनि जेठ १ देखि १५ गतेसम्म आ–आफ्नो क्षेत्रमा खटेर राहत, पुर्नस्थापना र पुर्ननिर्माणमा सहभागी हुन समितिले निर्देशन दिएको छ । हालै व्यवस्थापिका संसदबाट पारित गरेका साझा संकल्प प्रस्तावमा दिइएको निर्देशन तथा प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयनबारे टोलीहरुले अनुगमन गर्ने समितिका सभापति नेम्बाङले जानकारी दिए ।

नेकपा एमालेका नेताद्वय माधव नेपाल काठमाडौं र झलनाथ खनाललाई दोलखा खटाइएको छ । त्यस्तै काँग्रेसका गोपालमान श्रेष्ठलाई भक्तपुर र शेखर कोइरालालाई काठमाडौंमा खटाइएको छ । एकीकृत माओवादी नेता कृष्णबहादुर महरालाई गोरखा र टोपबहादुर रायमाझीलाई धादिङमा खटाइएको छ भने सद्भावनाका लक्ष्मणलाल कर्णलाई नुवाकोट र फोरम नेपालका शिवजी यादवलाई काभ्रेपलाञ्चोकमा खटाइएको छ ।