फुटका कारण माओवादी आन्दोलन कमजोर भएको निष्कर्ष निकालेका एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीबीच आज पार्टी एकताबारे छलफल हुँदैछ । नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषालले आज दुई पक्षीय छलफल हुने जानकारी दिनुभयो । तर, ठाउँ र समय तय भइनसकेको उहाँले रेडियो न्यूज नेटवर्कलाई जानकारी दिनुभयो । प्रचण्डका प्रेस सहयोगी शिव खकुरेलले पनि दुई माओवादीबीच साँझसम्ममा बैठक बस्ने सम्भावना रहेको बताउनुभयो । कार्यदिशा फरक परेको भन्दै करिब तीन वर्षअघि एकीकृत माओवादीसँग अलग भएको वैद्य माओवादीमा पनि विभाजन आएपछि एकताको प्रक्रिया सुरु हुँदैछ । केही दिनअघिको वैद्य माओवादीको पोलिटब्यूरो बैठकले एकीकृत माओवादीसँग एकता गर्न निर्णय गरेको थियो । पार्टी बिभाजनका कारण कम्युनिष्ट आन्दोलन कमजोर भएको र जनयुद्धका मुद्दा ओझेल परेको भन्दै विगतमा बिभाजित माओवादी पार्टीका युवा नेताहरुले एकताको पहल गर्दै आएका छन् । प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी तथा नेत्रविक्रम चन्द, मातृका यादव, मणी थापा नेतृत्वको पार्टीबीच पनि एकताको गृहकार्य भैरहेको छ ।
फुटेको माओवादी जोडिदै






