लन्डन । गैर आवासीय नेपाली संघ एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलन तथा प्रथम महिला एसिया प्यासिफिकको तयारी तीब्र पारिएको छ । सम्मेलनको लगभग ७० प्रतिशत काम सम्पन्न भइसकेको हो ।
एनआरएन सम्मलेन समिति सदस्य सचिव एवं एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) का अनुसार सम्मेलनको लागि होटल बुकिङदेखि आवश्यक अन्य तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलन तथा बैठक हङकङस्थित हार्वर ग्राण्ड कौलँन होटलमा गर्ने तय भइसकेको छ ।
हङकङमा सम्मेलन तयारीका लागि क्षेत्रीय संयोजक किरण थापा, सहसंयोजकद्वय विनोद कुँवर र पारसमणी पोख्रेल र प्रत्येक देशका अध्यक्षसहितको समिति गठन गरिएको थियो । आयोजकको नाताले एनआरएनए हङकङ अध्यक्ष टिका गुरुङलाई सदस्य सचिवको जिम्मेवारी तोकीएको थियो । बैठकलाई सफलताका साथ सम्पन्न गर्न स्थानीय रुपमा अध्यक्षको संयोजकत्वमा कार्यसमिति, संरक्षक समिति, सल्लाहकार समितिलगायत सम्मिलित एक सय एघार जनाको तयारी सहयोग समितिको गठन गरिएको थियो ।
आगामी डिसेम्बर ८ र ९ तारिख गरि दुई दिन सम्म हुने सम्मेलन ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दाहित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने नारासाथ हुन लागेको हो । सम्मेलनमा क्षेत्रीयस्तरबाट सहभागि एनसिसी प्रतिनिधिहरुले सो क्षेत्रको समस्याका विषयमा गहिरो छलफल गर्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा चीन, हङकङ, जापान, मकाउ, मलेशिया, म्यान्मार, फिलिपिन्स, साउथ कोरिया, सिङ्गापुर, थाइल्याण्डलगायत गरि २० भन्दा बढी मुलुकबाट करि दुई सयजनाको सहभागिता रहने आयोजक समितिले जनाएको छ । सम्मेलनको पहिलो दिन प्रतिनिधि दर्तालगायतका कार्यालय सम्बन्धी कार्यक्रम रहने छ भने दोश्रो दिन बैठक सम्पन्न गरिने कार्यक्रम रहेको छ । बैठकको उद्घाटन नेपालको मन्त्रीबाट हुनेछ ।






