पूर्वप्रम नेपाल र कोरियाली राजदूतबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ्ग हाकले नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग विदाइ भेट गरेका छन् ।

नेपाल निवास कोटेश्वरमा बुधबार भएको भेटका अवसरमा उनीहरुबीच नेपाल तथा कोरियाको मित्रवत् सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

आफू ४ बर्ष ९ महिना नेपालमा बस्दा नेपालको राजनीतिक नेतृत्व र नेपाली जनतालाई मैत्रीपूर्ण र हार्दिक पाएको उल्लेख गर्दै राजदूत हाकले आफ्नो देशसँगको सम्बन्धलाई महत्व दिएर विगतमा भ्रमण गर्नुका साथै आफूहरुलाई हरदम सहयोग उपलब्ध गराएकोमा पूर्वप्रधानमन्त्री नेपालप्रति आभार व्यक्त गरे ।

उनले भने, ‘हाम्रो सुख–दुःखमा सधैँ साथ दिनुभएकोमा आत्मीयता बोकेर फर्किंदैछु, मलाई विश्वास छ, यो सधैँ कायम रहनेछ ।’ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालले स्थायित्व र समृद्धि हासिल गर्ने विश्वास राजदुत हाकको छ ।

पूर्व प्रधानमन्त्री नेपालले आफ्नो पार्टीले समाजवादी मुलुकहरुसँगको सम्बन्धलाई सधैँ महत्व दिँदै आएको उल्लेख गर्दै आफ्नो कोरिया भ्रमणका बेलामा प्रतिकूल अवस्था रहे पनि अहिले कोरियाली प्रायद्वीपमा शान्तिका लागि प्रयास भएकोमा प्रशन्नता व्यक्त गर्दै त्यसले सफलता पाउने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *