अर्लाङ्कोट खुला दिसामुक्त

गुल्मीको अर्लाङ्कोट गाविसलाई खुला दिसामुक्त, पूर्ण खोप र पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । गाविसमा ९८ प्रतिशत मानिस साक्षर तथा शतप्रतिशत घरधुरीमा शौचालय निर्माण सम्पन्न भएकाले घोषणा गरिएको हो ।
जिल्ला शिक्षा कार्यालय गुल्मीका जिल्ला शिक्षा अधिकारी भोजराज काफ्लेले आइतबार आयोजित घोषणासभामा यो अभियानलाई नारामा मात्र सीमित नराखी सुन्दर तथा सभ्य समाजको निर्माणमा सम्पूर्ण गाविसवासीलाई जुट्न आग्रह गर्नुभएको थियो ।
घोषणासभामा जिल्ला खानेपानी तथा सरसफाइ अभियान डिभिजनका इञ्जिनियर कमलप्रसाद पन्थी, जिल्ला विकास समिति गुल्मीकी प्रतिनिधि दुर्गादेवी पाण्डे, जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रतिनिधि पशुपति आचार्य, महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामीका प्राचार्य भीमलाल सापकोटालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, पत्रकार, सामाजिक परिचालक, घोषणा सभालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगदातालगायतलाई सम्मान गरिएको थियो ।