बेलायतमा टिकाको साइत यस्तो छ

लन्डन । भोलि शुक्रबार हिन्दुहरुको महान चाड विजया दशमीको दिन बेलायतमा टिका ग्रहण गर्ने शुभ साइत बिहान ९ बजेर १५ मिनेटमा  उत्तम रहेको जानकारी स्थानीय पण्डितदय चिरन्जिवी ढकाल र निलहरी घिमिरेले दिएका छन् । घरमा आफन्तजनहरुबाट टिका ग्रहण गर्दा  पूर्व फर्किनु र लगाइदिनेले पश्चिम फर्किनु  उत्तम रहने समेत उनीहरुले बताएका छन् ।

शुभ साइतको समय पश्चात जुनसुकै समय पनि टिका, जमारा ग्रहण गर्न गराउन सकिने जानकारी बेलायतमा क्रियाशील ज्योतिष पण्डित निलहरी घिमिरेले दिएका छन् ।

त्यसैगरी, विश्व हिन्दू महासंघ बेलायतका अध्यक्ष चिरन्जीवी ढकालले बेलायतमा काल बेला छलेर अमृत बेलाको छनौट गर्दा बिहानको उक्त समयलाई नै उपयुक्त मानिएको बताए । 

बेलायतका विभिन्न मन्दिरबाट समेत टिका जमारा वितरण हुँदै साउथ इष्ट लन्डनको पशुपतिनाथ नेपाली मन्दिर प्लमस्टिडमा दशैंको दिन पुजित टिका, जमारा वितरण कार्यक्रम आयोजना गरिएको जानकारी मन्दिर समितिका अध्यक्ष सहदेब गिरिले दिएका छन् ।

त्यसैगरी वेष्ट लन्डन अन्तर्गत साउथल राम मन्दिरबाट टिका, जमारा लिए पश्चात घर घरमा टिका थाप्ने लगाउने तयारीमा अधिकांश नेपालीहरु भएको पण्डित ढकालले दिए । 

यस अलावा बेलायतको अल्डरसट, बर्मिंघम, नोटिंगहम, केन्ट, लेस्टर तथा वेल्स, स्कटल्याण्ड र आयरल्याण्डमा बस्ने नेपालीहरु समेत स्थानीय मन्दिरहरुबाट टिका ग्रहणको शुभारम्भ गर्ने तयारी गरिरहेका रिपोर्ट लण्डन नेपाल न्यूज डट कम लाई प्राप्त भएका छन् ।

बेलायतमा बस्ने हिन्दू तथा अन्य धर्मालम्बी नेपालीहरुले समेत दशैँ पर्वको शुभकामना आदान प्रदान गर्दै यो चाड मनाउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *