यूके डान्स’अफको उपाधि रजनी गुरुङ लाई

लण्डन । यूके डान्स’अफको उपाधि रजनी गुरुङले हात पारेकी छन्। अल्डरसटको प्रिन्सेस हलमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा १२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् ।  प्रतियोगितामा बेनुका लिम्बु दोस्रो र सिर्जना रायमाझी तेस्रो भए ।

कार्यक्रमको औपचारिक उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, यूके डान्स अफका प्रमुख सल्लाहकार सुर्य गुरुङ, कानुनी सल्लाहकार राजु थापा, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, तमु धी यूके अध्यक्ष ज्ञाम गुरुङ, बिजिडब्लुएस अध्यक्ष मे टिकेन्द्र दल देवान, कार्यक्रमका मुख्य प्रायोजकहरु कमल गुरुङ र पुनम गुरुङ, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगी मगर लगायतले संयुक्त रुपमा गरेका थिए ।

विजेता गुरुङलाई एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ र कमल गुरुङ, एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ, प्रतियोगिताका आयोजक सपनकुमार राई र मञ्जु गुरुङ ,कानुनी सल्लाहकार राजु थापाले,नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरे । प्रतियोगितामा नायिका मिरुना मगर, युके डान्स अफकी पूर्व विजेता जेनी सुनुवार र पर्चा प्रोडक्सनका समिर गुरुङ निर्णायक थिए भने नेपाल आइडलका विजेता बुद्ध लामा अतिथि निर्णायक थिए ।

प्रतियोगिताको उदघाटन समारोहमा शुभकामना मन्तब्य दिँदै बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले प्रवासमा नेपालीहरुले एकताको सन्देश फैलाउनु पर्ने बताए । उनले नेपाली कला सँस्कृतिको जगेर्ना र भावी पुस्तामा हस्तान्तरण गर्दै नेपाली भएर बाँच्न र नेपाली भएर मर्न पनि सबैलाई अपील गरे । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामीले यस्ता प्रतियोगिताले बेलायतमा रहेका युवा पुस्ताको प्रतिभा उजागर गर्न महत्वपूर्ण सहयोग गर्ने बताए । सपन इन्टरटेनमेण्टको आयोजनामा भएको सो कार्यक्रमको सभापतित्व कलाकार सपनकुमार राईले गरेका थिए भने स्वागत मन्तब्य मञ्जु गुरुङले गरेका थिए ।

कार्यक्रम संचालन सूर्य गुरुङ र दिनेश रोकाले गरेका थिए । प्रतियोगितको मुख्य स्पोन्सर कमल गुरुङ र पूनम गुरुङ थिए भने प्रथम पुरस्कारको स्पोन्सर रवि लामिछाने, दोस्रो पुरस्कार नमूना हेयर सैलुन र तेस्रो पुरस्कार एनआरएनए युकेले गरेको थियो । प्रतियोगितामा सहभागी, स्पोन्सर, मिडिया पार्टनरहरुलाई प्रसंशापत्र वितरण गरिएको थियो । प्रतियोगितामा दिप्सन घले, सुष्मिता गिरी, निशा गुरुङ, रजनी गुरुङ, शुभेच्छा गुरुङ, बेनुका लिम्बु, सलिना थापामगर, शुभेच्छा भारती मगर, श्रेया महर्जन, रीता पुन, सिर्जना रायमाझी र ओसिन लिम्बुले भाग लिएका थिए ।(तस्विर : ह्याब अ मोमेन्ट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *