लण्डन । बागलुङको गल्कोटबाट बेलायतआई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था गल्कोट समाज युकेले बेलायतमै आफ्नो साझा घर निर्माण गर्ने घोषणा गरेका छन् ।
समाजले आफ्नो तेस्रो वार्षिक कार्यक्रम यहि अक्टोबर २९ मा गर्ने घोषणा गरेको छ । समाजले साधारणसभा बर्मिङहममा गर्ने तय भएको हो ।
अध्यक्ष राजु कंडेलका अनुसार साधारणसभा बर्मिङहमको वेस्ट बर्मिच, थोमस स्ट्रिटमा अवस्थित द कन्फरेन्स सुटमा दिउँसो ३ बजे हुनेछ । साधारणसभा साझा घर निर्माण गर्ने लक्ष्यका साथ हुने अध्यक्ष कंडेलले जानकारी गराए ।
गल्कोट हाउसका लागि समाजले करिब ४ लाख पाउण्डको कोष जुटाउनुपर्ने र अबको केहि वर्षभित्रमा यो रकम जुटाएर हाउस निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष कँडेलको भनाइ छ ।

यसैबीच समग्र गल्कोट क्षेत्रको पर्यटन तथा कला संस्कृति परम्परा प्रवद्र्धनका लागि हिन्दुहरूको महान् चाड विजया दशमी भब्य रुपले आयोजना गरिने भएको छ ।
समाजका उपाध्यक्ष भोजराज कंडेलले कार्यक्रममा लोकदोहोरीका चर्चित गायक बैकुण्ठ महत र गायिका सिता केसीको विशेष प्रस्तुति रहने तथा अन्य स्थानीय कलाकारका गीत, नृत्यसहितका सांस्कृतिक कार्यक्रम र डिजे नाचको कार्यक्रम पनि रहेको जानकारी गराए ।






