अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको आगामी मध्यावधि चुनावमा चीनले हस्तक्षेप गर्नसक्ने आशंका व्यक्त गरेका छन् ।
उनले यो कुरा न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को एक बैठकमा संसारका शीर्ष नेता सामू भनेका हुन् ।
ट्रम्पले भने, ‘उनीहरु चाहँदैनन् कि मेरो जीत होस् किनभने म पहिलो अमेरिकी राष्ट्रपति हुँ जसले उनीहरुलाई व्यापारको मुद्धामा चुनौती दिएको छु ।’
यद्यपी, ट्रम्पले आफ्नो आरोपलाई पुष्टि गर्नका लागि कुनै प्रमाण भने दिएनन् ।
ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेसँगै अमेरिका र चीनबीच व्यापार शुल्कबारे विवाद चलिरहेको छ ।
चीनका विदेशमन्त्रीले ट्रम्पको दाबीलाई ‘अनुचित आरोप’ बताउँदै खारेज गरेका छन् । अमेरिकामा मध्यावधि चुनाव नोभेम्बर ६ तारिखमा हुँदैछ ।
बैठक अर्को मुद्धामा थियो तर….
संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक परमाणु, रासायनिक र जैविक हतियारमा रोक लगाउने तरिकामा चर्चा गर्नका लागि आयोजना गरिएको थियो तर ट्रम्पले यो मौकामा चीनलाई निशाना बनाए ।
उनले भने, ‘यो दुःखको कुरा हो कि चीनले नोभेम्बरमा हुने हाम्रो आगामी चुनावमा मविरुद्ध दखल दिने कोसिस गरिरहेको छ ।’
ट्रम्पले थपे, ‘उनीहरु चाहँदैनन् कि म जितूँ, उनीहरु चाहँदैनन् कि हाम्रो जीत होस् किनभने म यस्तो पहिलो राष्ट्रपति हुँ जसले व्यापारको मुद्धामा चीनलाई चुनौती दिइरहेको छ । यतिमात्र होइन, हामी व्यापारको मुद्धामा जीतसमेत हाँसिल गरिरहेका छौं । हामी चाहँदैनौं कि उनीहरुले हाम्रो चुनावमा दखल दिउन् ।’
चीनको जवाफः
ट्रम्पको आरोपको जवाफमा चीनियाँ विदेशमन्त्री वांग यीले सुरक्षा परिषद्सँग चीन अन्य देशको आन्तरिक मामलामा दखल नदिने स्पष्ट पारे ।
उनले भने, ‘चीनले सधैं अन्य देशको घरेलु मामलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै आएको छ । यो चीनियाँ विदेश नीतिको परम्परा हो ।’
यीले थपे, ‘हामीले न त कहिले अन्य देशको घरेलु मामलामा दखल दिएका छौं न भविष्यमा नै यस्तो गर्नेछौं । हामी चीनमा लगाइएको अनुचित आरोपलाई स्विकार गर्न सक्दैनौं ।’
त्यसपछि डोनल्ड ट्रम्पले ट्वीटरमा चीनियाँ पत्रिकाको कटिङ पोष्ट गर्दै त्यसलाई ‘प्रोपोगान्डा’ बताए ।
ट्रम्प प्रशासनले चीनमाथि अमेरिकी चुनावमा दखलको आरोप लगाएको यो पहिलो घटना होइन ।
पछिल्लो महिना अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भनेका थिए, ‘रुस, उत्तर कोरिया, इरान र चीनले अमेरिकी चुनावमा हेरफेरको योजना बनाइरहेका छन् ।’
यसको एकदिन अघि पनि डोनल्ड ट्रम्पले संयुक्त राष्ट्र महासभामा दिएको भाषणमा चीनप्रति आफ्नो कडा व्यवहार सही भएको बताएका थिए ।
अहिले कस्तो र चीन र अमेरिकाको सम्बन्ध ?
पछिल्लो केही महिनामा अमेरिका र चीनबीच व्यापार युद्ध गहिरिँदो छ । दुबै देशले एक अर्काको आयातित उत्पादनमा क्रमशः शुल्क बढाउँदै छन् ।
सेप्टेम्बरमा ट्रम्प प्रशासनले चीनियाँ उत्पादनमा दुई सय बिलियन डलर शुल्क लगाउने आदेश दिएको थियो ।
यसअघि अमेरिकाले चीनियाँ उत्पादनमा ५० बिलियन डलर आयात शुल्क लगाएको थियो र जवाफमा चीनले पनि यति नै रकमको उत्पादनमा शुल्क लगाएको थियो ।
पछिल्ला केही समयमा दुबै देशको सैन्य सम्बन्धमा पनि तित्तता छाएको छ । अमेरिकाले चीनियाँ सेनामाथि रुससँग हतियार खरिद गरेका कारण प्रतिबन्ध लगायो ।
जवाफमा चीनले पनि अमेरिका भ्रमणमा गएका आफ्ना नौसेना प्रमुखलाई फिर्ता बोलाए र दुबै देशबीच हुने सैन्य वार्ता स्थगित गरे ।
यसबाहेक चीनले अमेरिकी नौसेनाको एक जहाजलाई हंगकंगमा बस्नसमेत रोक लगाएको थियो ।
एजेन्सी






