‘साझा नेपाली समाज यूके’को अध्यक्षमा महेश अधिकारी निर्वाचित

लण्डन । साझा नेपाली समाज यूके’को अध्यक्षमा महेश अधिकारी निर्वाचित भएका छन् । सोमबार मिडल्याण्डको वुल्भरह्याम्पटनमा सम्पन्न संस्थाको विशेष भेलाले अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।

यसै गरि चौंथो नयां कार्यसमितिको  उपाध्यक्षमा नारायण फुंयाल,रामचन्द्र सुवेदी र महासचिवमा मिलन सापकोटा तथा नृपेश उप्रेती सचिवको जिम्मेवारीमा आएका छन् । सदस्यहरुमा हरि भुषाल, सुदर्शन पराजुली, पुण्डरी अर्याल, टिकाराम गौतम,राम प्रसाद बन्जाडे, श्याम खत्री, भिम शर्मा, विष्णु लामिछाने, कमल आचार्य चुनिएका छन् ।
कोषाध्यक्ष,सहित केहि सदस्य पदहरु भने रिक्त रहेको र केहि दिनमै नियुक्त गरिने नवनिर्वाचित अध्यक्ष अधिकारीले बताएका छन् ।

कार्यसमिति चयनको जिम्मा दयानिधी सापकोटा संयोजक तथा गंगाधर गौतम र तारानाथ भण्डारी सदस्य रहेको निर्वाचन समितिलाई दिइएको थियो । नवनिर्वाचित अध्यक्ष अधिकारीले मिडल्याण्ड क्षेत्रका सबै नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्थाको नेतृत्वमा आफुलाई विश्वास गर्ने स्थानीय तथा संघसंस्थाका प्रतिनिधीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नव गठित कार्यसमितिलाई बधाई एवं शुभकामना दिँदै निवर्तमान् अध्यक्ष रण बहादुर केशीले आफ्नो सहयोग साझालाई सदा रहने प्रण गरे । साझाका भूतपूर्व अध्यक्षद्वय गंगा गौतम र राजु कँडेलले पनि बधाई दिएका थिए भने संस्थापक अध्यक्ष शंकर भन्डारीले नयाँ कार्यसमिति टिमलाई खादा र टिका लगाएर बधाई एवं शुभकामना दिए।

मिडल्याण्ड र क्यम्व्रिजशेयर क्षेत्रमा रहेका पिटरबरो नेपाली समाज, सिर्जनशिल लेस्टर नेपाल, नेपाली समाज नटिंघाम ,हाम्रो नेपाली समाज , वुल्भरह्याम्पटन लगायतका संस्थाहरु मिलेर सन् २०१२ साझा नेपाली समाजको स्थापना गरिएको हो । यो संस्थाले यस भेगमा भएका नेपाली संघसंस्थाहरूबीच समन्यकारी भूमिका निर्वाह गर्दै नेपाल आइपर्ने प्रकृतिक विपत्ति तथा अन्य कल्याणकारी कार्य निरन्तर रूपले गर्दै आएको छ ।