लण्डन । मिस नेपाल– २०१८ को उपाधि जितेकी श्रृंखला खतिवडा च्यारिटी डिनरमा सहभागी भएकी छन् ।
गत शुक्रबार साँझ अल्डरसटस्थित प्यालेसमा सिग्नेचर र हयाब अ मोमेन्ट आयोजित च्यारिटी डिनरमा उनकी आमा मनु सिग्देल संगै सहभागी भएकी हुन् ।
खतिवडा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद विरोध खतिवडा तथा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन् ।
मिस नेपाल खतिवडा चेपाङ समुदायलाई लक्षित गरि मकवानपुरको दुर्गम कैलाश गाउँपालिका- ७ मा हेल्थ पोस्ट बनाउने अभियामा आर्थिक सहयोग जुटाउन यूके आएकी थिइन् ।
४० लाख रुपैयाँ लागतमा हेल्थ पोस्ट निर्माण गर्ने उनले आफ्नो योजना सुनाइन् । आगामी डिसेम्बरमा हुने मिस वर्ल्डमा श्रृंखलाले ‘ब्यूटी वीथ अ परपोज’ सेग्मेन्टमा चेपाङ समूदायका लागि गरिएको च्यारिटीबारे आफ्नो प्रस्तुति राख्नेछिन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, मिस यूके नेपाल २०१७ सृजना गुरुङ, समाजसेवी भूपेन्द्र गुरुङ लगायतले मिस नेपालको पवित्र कामको प्रशंसा गर्दै साथ दिन अरुलाई अपिल गरेका थिए । एनआरएनए यूके अध्यक्ष फगामी दम्पतिले मिस नेपाल र उनकी आमा मनु सिग्देललाई सम्मान पनि गरे ।
बेलायतस्थित हयाब अ मोमेन्टका नवीन गुरुङ र सिग्नेचरका दीपेश राई समुहले संयुक्त रुपमा गरेको च्यारिटीमा श्रृंखलाकी आमा मनु सिग्देल, एनआरएनए यूके उपाध्यक्षहरु प्रेम गाहामगर, शेर सुनार, पुनम गुरुङ, धर्म विभाग संयोजक होमनाथ पौडेल, पूर्व अध्यक्ष एवं संरक्षक योगेन क्षेत्री, व्यवसायी बिराज भट्ट, मिस यूके नेपाल आयोजक शान्ति गुरुङ ,एनआरएन यूके युवा संयोजक एलबिजेड गुरुङ ,समाजशेबी एबम गोर्खाली समाज युकेका उपाध्यक्ष हेम गुरुङलगायतको उपस्थिति थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ पोर्तुगलका पूर्व महासचिव एबं एनआरएनए अभियन्ता हेमन्त सेढाईंले आफ्ना पिताको स्मृतिको स्मरण गर्दै पवित्र कामको सहयोगको लागि एकलाख एघार हजार एक सय एघार रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएकी चर्चित नृत्यांगना निलम ढुंगाना, लिसा सुनार, आस्था जोशी लगायतले नृत्य र स्थानीय ब्याण्डहरु जर्ज एण्ड केभिन र टाकी एण्ड अब्रिलले हिन्दी, नेपाली र अंग्रेजी गीत प्रस्तुत गरेका थिए ।
४ दिनको लागि बेलायत आएकी मिस नेपाल श्रृंखला कार्यक्रम लगत्तै नेपाल फर्किदैछिन ।