मेयर र उपमेयरबीच विवाद बढेपछि…

नवलपरासी – पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ ।

उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शीको माग राख्दै कार्यालयमा गर्नुभएको तालाबन्दी र नगर प्रमुख छत्रराज पौडेलले उपप्रमुखले नियमबिपरीत कार्यालयमा तालाबन्दी गरेको आरोप लगाएपछि दुबैपक्ष बिचको विवाद चुलिएको थियो ।

आर्थिक पारदर्शिता र सुशासनको माग गर्दै गैँडाकोट नगरपालिकाको कार्यालयमा मङ्गलबार उपप्रमुख कँडेलसहित केही कार्यपालिका सदस्यले लगाएको ताला बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा भएको नगर प्रमुख पौडेल, उपप्रमुख कँडेलसहितको छलफलपछि खोलिएको थियो ।

आर्थिक वर्ष २०७४÷७५ को अषाढ महिनाको हिसाबकिताब हेर्न पाउने सहमति बनेपछि ताला खोलिएको गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले बताए ।

हिसाबकिताब जाँचबुझका लागि प्रमुख कोष नियन्त्रक महेशशरण भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

पटकपटक नगरकार्यपालिकाको बैठकमा आर्थिक पारदर्शिताका लागि माग गर्दा पनि सुनुवाइ नभएको हुँदा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उपप्रमुख कँडेलको भनाइ छ । नगर प्रमुख पौडेलले उपप्रमुखले नियमभन्दा बाहिर रहेर आरोप लगाएको र आर्थिक पारदर्शिता रहेको दाबी गरे ।

उक्त नगरपालिकाबाट भएका विकास निर्माणलगायतका खर्चको हिसाबकिताब जिम्मेवार जनप्रतिनिधिलाई जान्नबाट बञ्चित गराएको आरोपमा उपप्रमुखलगायत बहुमत सदस्यले मङ्गलबार तालाबन्दी गरेका थिए ।