प्रधानमन्त्री सुशील कोइरालाले नयाँ बन्ने संविधानका विवादित विषयमा प्रमुख राजनीतिक दलहरुबीच भइरहेको वार्ताको परिणाम छिट्टै आउने बताउनु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को काठमाडौँमा निर्माण हुन लागेको कार्यालय भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री कोइरालाले प्रमुख दलहरु संविधान निर्माणका लागि गहिरिएर छलफल गरिरहेकाले त्यसले छिट्टै सार्थकता पाउने विश्वास व्यक्त गर्नु भयो ।
दलहरुको आफ्नो प्रतिवद्धताअनुसार माघ ८ मा संविधान जारी हुन नसके पनि दलहरुलाई असफल भएको भन्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्रीले दलहरुबाट के कति गल्ती र कमजोरी भएका छन् ,त्यसलाई सबै (एनआरएनए) ले समेत औँल्याउनुपर्ने बताउनुभयो ।
एनआरएनको नेपालमा आफ्नै कार्यालय भवन निर्माण हुनु विश्वभर छरिएर रहेका नेपालीका लागि गौरव र एकताको प्रतिक भएको बताउँदै उहाँले सरकारले लगानीमैत्री वातावरण बनाएकाले ढुक्क भएर आफ्नो लगानी र सीपका माध्यमबाट आफ्नो जन्मभूमिलाई समृद्ध बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नयाँ बन्ने संविधानमा एनआरएनएलाई नागरिकता प्रदान गर्ने प्रावधान सुनिश्चित् हुने अवगत गराउँदै समयमै संविधान बनाउन एनआरएनएले पनि दल र तीनका नेतालाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले वर्तमान सरकारकै पालामा लगानीमैत्री वातावरण भएकै कारण आज जलविद्युत् र पूर्वाधारका लगानीमा ठूला सम्झौता भएको उल्लेख गर्दै एनआरएनएले लगानीका लागि गरेको पहलको सराहना गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का महासचिव इश्वर पोखरेलले एनआरएनएको भवन शिलान्यास कार्य महत्वपूर्ण कामको आँैपचारिक थालनी र लगानीका लागि एकताको प्रतिक भएको बताउँदै मुलुकमा अव आर्थिक र सामाजिक रुपान्तरणको आवश्यकता रहेको आँैल्याउनुभयो ।
शिलान्यास कार्यक्रममा एनआरएनएका अध्यक्ष शेष घलेले निर्माण हुने कार्यालयको भवनले संस्थाप्रति थप आस्था र विश्वास जगाउने बताउँदै मातृभूमिप्रतिको दायित्वलाई जिवन्त राख्न मद्दत पुग्ने धारणा राख्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङग पाण्डेले मुलुकमा लगानीको लागि उचित वातावरण बनेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
एनआरएनएका पूर्व अध्यक्ष डा उपेन्द्र महत्तोले ‘नेपाल हाम्रो हो र हामीले नै बनाउनु पर्छ’ भन्दै विकास निर्माणका कार्यले मात्र सङ्क्रमणकाल छोट्याउन सकिने जिकिर गर्नुभयो ।
एनआएनएका पूर्व अध्यक्ष जिवा लामिछानेले विश्वमा छरिएर रहेका नेपाली नै एनआरएनएको ठूलो शक्ति भएको बताउँदै भवन निर्माणले आर्थिक स्थायीत्वका लागि महत्वपूर्ण योगदान दिने उल्लेख गर्नु भयो ।
विश्वका विभिन्न ७० मुलुकमा छरिएका एनआरएनएको सहयोगमा राजधानीको बालुवाटारमा तीन रोपनी जग्गामा रु २० करोडको लागतमा अत्याधुनिक कार्यालय निर्माण हुन लागेको हो ।






