गहुँको रोटी खाँदा आठ जनाको मृत्यु

धादिङको पीडा गाविस- ८ पुकुनमा गहँुको रोटी खाँदा आज आठ जनाको मृत्यु भएको छ भने गाउँका अन्य २० जना बिरामी भएका छन् । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मृत्यु हुनेमा ६२ वर्षीय सञ्जाबहादुर स्याङ्तान, उनका बुहारी २८ वर्षीया फुलमाया स्याङ्तान, नातिनी सात वर्षीया सविता स्याङ्तान, नातिहरु पाँच वर्षीय रमेश स्याङ्तान, दुई वर्षीय अनिल स्याङ्तान, पाँच वर्षीय अर्जुन स्याङ्तान रहेका छन् ।
बिरामीमध्ये एक जनाको उपचारका लागि बाटोमा नै र तीन जनाको मेघा अस्पताल काठमाडौँमा मृत्यु भएको हो । दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । आज बिहान विषादी मिसाएको गहुँलाई पानीले पखालेर घट्टमा पिस्न लगेका थिए । पिसिएको पिठोबाट रोटी बनाएर खाने क्रममा उनीहरुको मृत्यु भएको घाइतेले बताएका छन् ।
गहुँको रोटी खाँदा पीडा गाविस–७ चिउरीखर्कका घट्ट धनी परिवार पनि बिरामी परेका छन् । गहुँ पिसाएबापत ज्यालाको रुपमा लिएको पिठोको रोटी खाँदा घट्ट धनी तिलकबहादुर दोङको चार जनाको परिवार र तिलकबहादुरका दाजु रिबहादुर दोङ पनि बिरामी परेका छन् । त्यस्तै गहुँको रोटी खाँदा नजिकैको एक छिमेकीको छ जनाको परिवार पनि बिरामी परेका छन् । बिरामीको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।