
मस्को, २३ फागुन /एएफपी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो पारिश्रमिक १० प्रतिशतले कटौती गर्ने र अन्य अनेकौँ उच्च अधिकारीको पनि आयमा कटौती गर्ने घोषणा शुक्रबार गरेका छन् ।
रसियाली मुद्रा रुबल धराशायी भएपछि यस मुलुकको आर्थिक अवस्था निकै खस्केको छ । राष्ट्रपतिले हस्ताक्षर गरेको एक आदेशमा राष्ट्रपति पुटिन, उनका प्रधानमन्त्री दिमित्री मेदभेदेभ, महान्यायाधीवक्ता युरी चाइका तथा शक्तिशाली अनुसन्धान समितिका अध्यक्ष अलेक्जान्डर बास्त्रिकिनको तलवमा मार्च १ देखि डिसेम्बर ३१ सम्मका लागि १० प्रतिशतले कटौती हुने उल्लेख गरिएको छ ।
यस्तो तलब कटौती राष्ट्रपतिको कार्यालय तथा मन्त्रीपरिषद्ले काममा लगाएका सबै कमैचारीमा पनि लागु हुने जानकारी दिइएको छ । क वर्ष अगाडि क्रेमलिनले राष्ट्रपति पुटिनको तलवमा तेब्बर वृद्धि गरेको थियो । यसको एक वर्षभन्दा कम समयमै तलब कटौतीको यो घोषणा भएको हो । युक्रेनको पूर्वी भागमा पृथकतावादी विद्रोहीलाई समर्थन गरेको भनी रसियाको भूमिकाका लागि पश्चिमी मुलुकले प्रतिबन्ध लगाएको छ । यसै कारण यहाँको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताइएको छ ।
तेलको मूल्य घटेपछि रसियाली मुद्रा रुबलको मूल्य डिसेम्बर महिनामा नाटकीय रूपमा घटेको थियो । उक्त समयमा रुबलको मूल्य अमेरिकी डलरको तुलनामा आधा भएको बताइएको छ ।






