काठमाडौं– राष्ट्रियसभा बैठकमा मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखिएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउदै सत्तापक्षका सांसदहरु उठे ।
लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।
त्यसपछि बसेका प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । त्यसपछि अध्यक्षको अनुमति विनानै दुवै पक्षका सांसदहरुबीच भनाभन सुरु भयो । प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाईरहेका बेला बोलेका नेकपाका प्रमुख सचेतक भट्टराई सदन चल्नु पर्छ भन्दै जबरजस्ती सदन रोक्न पाईदैन भन्ने अभिव्यक्ति राखेपछि फेरि काग्रेसका सांसद सुरेन्द्र पाण्डे र सरिता प्रसाईले प्रतिकार गरे ।
त्यसपछि बैठकमा होहल्ला सुरु भयो । चोर औला देखाई देखाई सांसदहरु भनाभनमा उत्रिदा अध्यक्ष तिमिल्सिना भने आसनग्रहण गर्न आग्रह गर्दै थिए ।
अध्यक्ष बोल्दै गर्दा पनि सांसदहरु बोलिरेपछि अध्यक्ष तिमिल्सिनाले आफुले बोल्दा बोल्न नमिल्ने भन्दै नियमावलिलाई स्मरण गराउनुपरेको थियो ।
निकै समयपछि सत्तापक्ष दलका सदस्यले आसन ग्रहण गरेपछि प्रतिपक्षी दलका सदस्य उभिईरहेपछि अध्यक्षले बैठक साउन ९ गते बुधबार विहानसम्मका लागि स्थगित भएको जानकारी गराए ।






