एनबीसी यूकेले लण्डन ट्राफल्गर स्क्वायरमा गर्र्यो बाढीपीडितको सम्झनामा दीपप्रज्वलन तथा स्मृतिसभा

शिब भण्डारी
लन्डन । भोटेकोशीमा आएको विनाशकारी आकस्मिक बाढीबाट ज्यान गुमाएका तथा प्रभावितहरूको सम्झनामा नेपाली ब्रिटिश कम्युनिटी (एनबीसी–यूके) ले लन्डनको ऐतिहासिक ट्राफल्गर स्क्वायरमा दीपप्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

आइतबार आयोजित कार्यक्रममा बेलायतमा रहेका नेपाली समुदायका सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कूटनीतिज्ञ, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। साथै, विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै दुःखको यस घडीमा मानवीय सहयोग र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिइयो।

नेप्लिज ब्रिटिश कम्युनिटी यूकेका सचिव दामोदर आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका द्वितिय सचिव संजोग राई,गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, काउन्सिलर लक्ष्य गुरुङ,तमु समाज यूकेको संस्थापक अध्यक्ष चित्र गुरुङ,व्यवसायी उत्तम नेपाल, धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष बुद्धि तामाङ, युवा प्रतिनिधि सुशान्त चुडाल,नर्सिङ एसोसिएसन यूकेकी पूर्व अध्यक्ष प्रसुना कँडेल,सुनीता गौतम तथा मिस नेपाल यूकेकी अध्यक्ष मनीषा डंगोललगायतको सहभागिता रहेको थियो।

एनबीसी–यूकेका अध्यक्ष समिर व्याकरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै बाढीबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। सहभागीहरूले प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई आवश्यक सहयोग, सहकार्य र मानवीय साथ उपलब्ध गराउन बेलायतस्थित नेपाली समुदाय एकताबद्ध हुनुपर्नेमा समेत जोड दिए।

ट्राफल्गर स्क्वायरमा नेपाली समुदायको उल्लेख्य उपस्थितिबीच सम्पन्न श्रद्धाञ्जली तथा स्मृतिसभाले भोटेकोशी बाढीबाट प्रभावितहरूप्रति बेलायतस्थित नेपालीहरूको गहिरो संवेदना र ऐक्यबद्धता अभिव्यक्त गरेको छ। कार्यक्रमले विपद्को पीडामा परेका परिवारसँग दुःख बाँड्दै आपसी एकता, सहकार्य र मानवीय उत्तरदायित्वलाई थप बलियो बनाउने सन्देशसमेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *