निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ ।

अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

“दोस्रो वाइड बढी विमान भित्र्याउनका लागि निगमको एक समूह ‘टोली’ हिजो शुक्रबार फ्रान्स गइसकेको छ । निगमका महाप्रबन्धकसहितको टोली भोलि आइतबार त्यसतर्फ जाने तयारीमा छ”, उहाँले भन्नुभयो ।