एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था कडा पारिएको छ । केही दिनअघि नक्सालवादी कार्यकर्ताको गिरफ्तारीको क्रममा उनको हत्या योजना बनाएको समाचार बाहिर आएलगत्तै प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्था कडा पारिएको हो । मंगलबार भारतीय गृह मन्त्रालयले प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नयाँ निर्देशन जारी गरेको जनाइएको छ ।
गृह मन्त्रालयका अनुसार अब स्पेशल प्रोटेक्सन ग्रुप(एसपीजी)को अनुमति विना प्रधानमन्त्री मोदीलाई कसैले भेट्न पाउने छैन । एसपीजीको निर्देशनविना प्रधानमन्त्री मोदीलाई कुनै पनि मन्त्री वा सरकारी अधिकारीले समेत भेट्न नपाउने कडा नियम बनाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केही दिनअघि भारतको पुणेस्थित प्रहरीको एक टोलीले ५ जना नक्सालवादी कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो । सो गिरफ्तारीमा परेका कार्यकर्ताहरुबाट भारतीय प्रहरीले प्रधानमन्त्री मोदीको पूर्वप्रधानमन्त्री राजिव गान्धीको शैलीमा हत्या योजना बनेको सुचना बाहिर ल्याएको थियो ।
त्यसलगत्तै भारतीय गृहमन्त्री राजनाथ सिंहले सुरक्षा समितिको बैठक बोलाएर प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेका थिए । उक्त बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, केन्द्रीय गृहसचिव राजीव गाबा, अनुसन्धान ब्यूरोका निर्देशक राजिब जैन लगायतको सहभागिता रहेको थियो । सो बैठकले प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्थालाई थप कडा पार्ने निर्णय गरेको थियो ।






