एनआरएन सम्मेलन लगानीसँगै प्रविधि र सीप भित्र्याउनेमा बढी केन्द्रित गरिनेछ : कुमार पन्त उपाध्यक्ष, एनआरएन

आगामी अक्टोवर १२, १३ र १४ मा नेपालमा हुने एनआरएनको विज्ञ सम्मेलनको तयारी तीब्र रुपमा भइरहेको छ । नेपालमा हुने सो सम्मेलन विशेष गरि विदेशी लगानीसँगै प्रविधि र पूँजी भित्र्याउनेमा बढी केन्द्रित गरिने छ । एनआरएन आयोजक र नेपाल सरकार सहआयोजक रहने गरि लगानी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । सो सम्मेलनको तयारीस्वस्प गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले विभिन्न क्षेत्रमा क्षेत्रीयस्तरको सम्मेलन आयोजना गरिरहेको छ ।

सोही तयारीस्वस्प अमेरिकाको विज्ञ सम्मेलन सम्पन्न भइसकेको छ । नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोनियाको सनफ्रान्सिस्कोमा सकिएको हो । सम्मेलनमा विभिन्न देशबाट ३०० जना भन्दा बढीको सहभागिता रह्यो । सम्मेलनमा विभिन्न ७ वटा विषयहरु शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय उर्जा, आर्थिक समाजिक क्षेत्रसंग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

विदेशमा कार्यरत बौद्धिक समुदायको ज्ञान, सिप र दक्षतालाई नेपालको आर्थिक, प्राविधिक, वैज्ञानिक, सामाजिक विकास लगायतका क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ ? भन्ने विषमा केन्द्रित रही कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत कार्यपत्रमाथि नेपालमा कसरी दक्षता, ज्ञान र सिप उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही कार्यपत्रहरुमाथि छलफल भएको थियो ।

आगामी जुलाई २९ र ३० तारिखमा लक्जम्बर्गमा एनआरएनको यूरोपस्तरीय क्षेत्रीय सम्मेलन हुँदैछ । सम्मेलनमा परारष्ट्र मन्त्री प्रदिप ज्ञवाली, पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराई सहभागि हुनुहुने तय भइसकेको छ । यूरोपको एघारौ युरोपेली क्षेत्रीय बैठकमा युरोपस्थित २७ देशका गैरआवासी नेपाली सहभागि हुनुहुने छ ।

समितिमा युरोप क्षेत्रका उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आईसीसी सदस्यहरु, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु समेत सहभागि हुनुहुनेछ । सो सम्मेलनमा एनआरएनका समस्या, यूरोप एनसिसीका गतिविधीहरु, युरोपबाट नेपालको पर्यटन प्रबद्र्धन, लगानी भित्र्याउने, प्रविधिको हस्तान्तरण र महिलाहरुका समस्याका विषयमा गहन छलफल हुनेछ ।

त्यस्तै गरि गैर आवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वको छैठौं क्षेत्रीय सम्मेलन आउँदो अगस्ट २४ र २५ मा युएईमा हुँदैछ । मध्यपूर्वका १२ देशका एनसिसी तथा आइसिसी प्रतिनिधिको सहभागीतामा सो सम्मेलन गरिनेछ । सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली कामदारका विभिन्न विषयमा छलफल सहित घोषणापत्र जारी गर्नेछ ।

एनआरएनका सबै क्षेत्रीयस्तरका सम्मेलन सम्पन्न भएपछि आगामी अक्टोवर १२, १३ र १४ मा काठमाडौंमा अन्तराष्ट्रियस्तरको सम्मेलन हुनेछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने तय भइसकेको छ ।  सम्मेलनले यअसघि एनआरएनले घोषणा गरेको १० अर्ब लगानी नेपालमा भित्र्याउने र विदेशी पूँजीसँगै ज्ञान, सिप र प्रविधि भित्र्याउने विषयमा गहिरो छलफल गर्नेछ ।