आन्दोलन होइन, वार्तामा आउनुहोस : सिह

इलाम, १८ फागुन । उपप्रधान मन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले निःसर्त वार्तामा आउन आन्दोलनरत दललाई आग्रह गर्नुभएको छ ।
नेपाल प्रेस युनियन इलाम शाखाले आज इलाममा आयोजना गरेको पत्रकारसम्मेलनमा उपप्रधान मन्त्री सिंहले दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसक्दा मुलुक नै असफल हुने धारणा राख्दै सबैको सहमति र सहकार्यमा संविधान जारी गर्न सके त्यो दिगो हुने विचार व्यक्त गर्नुभयो ।
“कसैले केही छाडौँ, लचकता अपनाऔँ”–उहाँले भन्नुभयो–“मिल्न नसकेका विषयलाई वार्ता र सहमतिको माध्यमबाट हल गरौँ ।”
निर्वाचन प्रणाली, शासकीय स्वरुप, सङ्घीयतालगायत विषयमा सबै दलबीच सहमति भइसकेकाले त्यसलाई मूर्तरुप दिन वार्तामा आउन सरकारले आग्रह गरेको उहाँले बताउनुभयो । उहाँले मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन संविधान जारी गर्नुको कुनै विकल्प नभएको बताउनु भयो ।
एक फरक प्रसङ्गमा मन्त्री सिंहले वर्तमान परिस्थितिमा सरकार परिवर्तन नहुने बताउनुभयो ।