बेलायतको नेपाली मेला हेर्न ओइरिए हजारौं नेपाली, कसले के भने (भिडियो सहित)

लण्डन । नेपाली कला, संस्कृति र भेषभूषा झल्काउने बेलायतको एउटा वृहत नेपाली मेला सम्पन्न भएको छ । तमुधिं युकेको आयोजनामा लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित १४ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको हो । आइतबार लण्डनको केप्टन पार्क रेसकोर्समा आयोजित मेला भर्न वेलायतका बिभिन्न ठाउ बाट हजारौं दर्शकहरुको ओइरो लागेको थियो।गर्मि मौसमको आनन्द लिदै वेलायतस्थित समाजिक संघसँस्थाहरुले नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै नेपाली मेलामा रनौक थपेका थिए।

बेलायतस्थित नेपाली संघसंस्था बीचको सम्बन्ध प्रगाढ बनाउन, आपसमा कला संस्कृतिको परिचय र युवा पुस्तामा नेपाली भाषा एवं कला संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले सन् २००९ देखि सुरु गरिएको हो ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य थिए। सो अवसरमा सांसद खामवीर गर्बुजा, बेलायतस्थित बंगलादेश र श्रीलंकाका कुटनीतिक प्रतिनिधि, बेलायतका विभिन्न काउन्टी तथा बरोका मेयर तथा काउन्सिलरहरु, विभिन्न बेलायती च्यारिटी तथा समुदायका प्रतिनिधिलगायतका विशिष्ट अतिथिको सहभागिता रह्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान, संस्कृति र परम्परालाई बिर्सिन सक्दैनन भन्ने सन्देश मेलाले दिएको बताए । नेपाली संस्कृति, कला, भेषभूषा र परम्परालाई प्रवद्र्धन गर्दै आपसी सद्भाव र भाइचारा बढाउनसमेत मेलाले योगदान गरेकोमा उनले प्रशंसा गरे।एनआरएनए केन्द्रीय अध्यक्ष कुल आचार्यले बेलायतको नेपाली मेलाले नेपालबाहिर पनि नेपाल बनाउने काम गरेको भन्दै आयोजकलाई धन्यवाद दिए।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित सबै नेपालीबीचको सद्भाव बढाउने र नयाँ पुस्तालाई नेपाली संस्कृतिसंग नजिक गराउने मेलाको प्रमुख लक्ष्य रहेको उल्लेख गरे।

मेलामा सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुतितर्फ सर्वोत्कृष्ट बन्दै किरात राई यायोख्या यूकेले ११ सय पाउण्ड नगदसहित एम्बासडर कप जित्यो । विजेता संस्थालाई तीन सय पाउण्ड नगदसहित एनआरएनए कप पनि प्रदान गरियो ।

त्यस्तै, दोस्रो र तेस्रो स्थान हासिल गर्ने घान्द्रुक समाज यूके र पासा पुचः गुथि यूकेले क्रमशः सात सय र पाँच सय पाउण्ड नगदसहितका पुरस्कार प्राप्त गरे।

झाँकीतर्फ किरात राई यायोख्याले प्रथम, पासा पुचः गुथिले दोस्रो र घान्द्रुक समाज यूकेले तेस्रो स्थान हासिल गरे । नृत्यतर्फ घान्द्रुक समाज यूके प्रथम र किरात राई यायोख्खा दोस्रो भए। दुवै विधामा पहिलो हुनेले सात सय, दोस्रोले पाँच सय र तेस्रोले तीन सय पाउण्ड नगदसहितको पुरस्कार प्राप्त गरे।
मेलामा यसपटक शुरु गरिएको दुई सय पाउण्ड नगदसहितको प्रेसिडेन्ट च्वाइस पुरस्कार पासा पुचः गुथि यूकेले पायो।

निर्णायकको भूमिका साहित्यकार एकेन्द्र गुरुङको संयोजकत्वमा डा.प्रमोद कोयी राई,संगीतकार विक्रम गुरुङ, कलाकार माओत्से गुरुङ, ताराबहादुर गुरुङ, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नृत्यकार बालकाशी गुरुङ र नायिका रजनी गुरुङले निर्वाह गरेका थिए।

 

मेलामा सगरमाथा आरोहण गर्ने किर्तीमानी आरोही हरि बुढामगर र आरोही नायिका दिया पुनलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमको औपचारिक सत्र महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए भने मेला संयोजक उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सांस्कृतिक सत्र योगेश गुरुङ, सूर्य गुरुङ र सपन रोका मगरले चलाएका थिए।

नेपाली व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी विक्री स्टलहरु थिए ।