काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरे एक साताअघि आन्तरिक रक्तस्राव बढेका कारण अस्पातलमा भर्ना भएका छन् । अहिले हाई केयर युनिटमा राखेर उहाँको उपचार हुँदै आएको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिन धापासी पुग्नु भएका प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेर समेत उहाँको उपचार गराउने प्रतिबद्वता व्यक्त गर्नु भयो ।
उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिएको थियो । साहित्यमा आफ्न कृति र रचनाले सम्पूर्ण नेपालीहरुको मन जित्न सफल राष्ट्रकवि घिमिरेको उपचारमा कुनै कमी हुन नदिन ओलीले छिमेकी भारतस्थित सम्बन्धित चिकित्सकलाई समेत टेलिफोन गरी आवश्यक परार्मशसमेत गर्नुभयो ।






