श्रीलंकाको प्रभावशाली जित

काठमाडौं, फाल्गुन १७ । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा श्रीलंकाले इंग्लण्डलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ । न्युजिल्याण्डको वेलीङ्टनमा भएको खेलमा इंग्लण्डले दिएको ३ सय १० रनको चुनौती श्रीलंकाले ४८ औं ओभरमा १ वकेट गुमाएर पुरा गर्‍यो ।
श्रीलंकालाई विजयी गराउन कुमार सांगाकारा र लहिरु थिरीमानेले शतकीय पारी खेले । सुरुवाती ब्याट्सम्यान थिरीमानेले तेस्रो विकेटको लागि सांगाकारासँग २ सय १२ रनको साझेदारी गर्नेक्रमा अविजित १ सय ३९ रन जोडेभने सांगाकाराले अविजित १ सय १७ रनको योगदान दिए । यसैगरी तिलकरत्ने दिल्शानले ४४ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको इंग्लण्डले निर्धारीत ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ९ रन जोडेको थियो ।
इंग्लण्डका लागि जो रुटले १ सय २१ रनको शतकिय पारी खेले । बलीङतर्फ श्रीलंकाका प्रयोग गरेका सबै ६ जना बलरहरुले एक एक विकेट हात पारे । आजको जीतपछि श्रीलंकाले जारी विश्वकपको क्वाटरफाईनल पुग्ने संभावना बलियो पारेको छ ।
पहिलो खेलमा न्युजिल्याण्डसँग हारेको श्रीलंकाले त्यसपछि भने लगातार तीन खेलमा अफ्गानिस्तान, बंगलादेश र इंग्लण्डलाई हराएको छ । ४ खेलबाट ६ अंक जोडेको श्रीलंका समुह ए को दोस्रो स्थानमा छ भने समान खेलबाट ८ अंक जोडेको न्युजिल्याण्ड क्वाटरफाईनलमा पुगिसकेको छ ।