बेलायती सांसदहरु नेपाल भ्रमणमा जाँदै

लन्डन– बेलायती सांसदहरुको एक प्रतिनिधिमण्डलले यहि साता नेपालको भ्रमण गर्ने भएको छ ।

ब्रिटिस ग्रुप अन इन्टर पार्लियामेन्टरी युनियन (बिजीआइपियु) का सदस्य सांसद नाइजेल इभान्स नेतृत्वको ७ सदस्यीय टोलीले मे ६ तारिखदेखि १२ तारिखसम्मको एक साता लामो नेपाल भ्रमण गर्न लागेको हो । भूतपूर्व गोर्खाहरुको समस्या समाधानको प्रयासमा गठित सर्वपक्षीय प्राविधिक संयन्त्रको रिपोर्ट बेलायत तथा नेपाललाई बुझाइएको केहि सातापछि बेलायती सांसदहरुको समुह नेपाल भ्रमणमा जान लागेको हो ।

भ्रमण टोलीमा सांसद इभान्सका साथै सांसदहरु डेभिड मोरिस, केरी म्याककर्थी, वीरेन्द्र शर्मा, लर्ड बाल्फे अफ डल्विच, लर्ड डोलाकिया र बिजीआइपियुकी प्रोजेक्टर म्यानेजर एमिली डेभिस रहनेछन् ।

नेपाल भ्रमणको क्रममा उनीहरुले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, का।मु। प्रधान न्यायाधीश, परराष्ट्रमन्त्री, ऊर्जा मन्त्री, महिला, बालबालिका र समाज कल्याण मन्त्री लगायतसंग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको लण्डन दूतावासले जनाएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बुधबार दिउँसो भ्रमणमा जाने प्रतिनिधि मण्डलका सदस्यहरुसँग शिष्टाचार भेट गरी बेलायती सांसदहरुको नेपाल भ्रमणको तयारीबारे जानकारी गराएका छन् ।

राजदूत डा सुवेदीले ब्रिटिश सांसदहरुको नेपाल भ्रमणले द्धिपक्षीय सहयोग र सम्बन्धलाई थप मजबुत बनाउन उल्लेखनीय भूमिका रहने विश्वास व्यक्त गरेका थिए । नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भई संविधानको कार्यान्वयन भएको र निर्वाचित सरकारले आर्थिक विकासलाई मूल लक्ष्य निर्धारण गरेको वर्तमान परिप्रेक्ष्यमा बेलायती सांसदहरुको यो भ्रमण सार्थक र उत्प्रेरक हुने विश्वास व्यक्त गर्दै राजदूत डा सुवेदीले दुई मुलुकका सांसदहरुबीचको सम्बन्धले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा समेत मद्दत पुग्ने आशा व्यक्त गरे ।

प्रतिनिधिमण्डलका नेता सांसद इभान्सले तीन तहको निर्वाचन शान्तिपूर्वक र सफलतापूर्वक सम्पन्न भई नयाँ सरकारको निर्माण भएको बेलामा नेपालको भ्रमण गर्न पाउनु सुखद संयोग रहेको बताए । आफ्नो भ्रमणपश्चात नेपालको आर्थिक र सामाजिक विकासमा थप सहयोगको निम्ति ब्रिटिस सरकारलाई सिफारिश गर्ने बताउँदै उनले दुई सय वर्षभन्दा पुरानो घनिष्ठ सम्बन्ध रहेको नेपालसँग ब्रिटिश सरकार र जनताको सधैं सद्भाव र सहयोग रहने धारणा व्यक्त गरे ।