लन्डन– प्रोफेशनल ब्युटी असोसिएसन यूकेले फेशन शोसहित मेक अप कम्पिटिसन गरेको छ ।
शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको फेशन शोमा लन्डनस्थित डिजाइनर आर्च कलेक्सनकी अन्जली केसीले डिजाइन गरेका पोशाकहरु लगाएर मिस नेपाल यूके २०१७ का सातजना प्रतियोगीले क्याटवाक गरे । फेशन शोको कोरियोग्राफी माला गुरुङले गरेकी थिइन् ।
सौन्दर्यविज्ञ कमला श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ब्युटी सलुन सञ्चालन नगरेका तर सौन्दर्यमा रुची भएका ‘फ्रिल्यान्स न्यूकमर’ ७ जना युवतीले भाग लिएको मेकअप प्रतियोगितामा निक्की पाण्डे विनर बनिन् । उक्त प्रतियोगितामा कमला श्रेष्ठ, धरानकी भारती सुब्बा र प्रेक्ष्या बस्नेत निर्णायक थिए । प्रतियोगिताका विजेतालाई मुख्य प्रायोजक न्यू लक्ष्मी ज्वेलर्सले सुनका गरगहना उपहार प्रदान गरेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै श्रेष्ठले बेलायतका नेपाली महिला सौन्दर्य व्यवसायीहरुले चुनौतिपूर्ण पेशालाई सहज ढंगले सञ्चालन गरेकामा खुशी लागेको बताइन् ।
प्रोफेशनल ब्युटी एसोसिएसन यूकेकी अध्यक्ष सुनिता थापाले स्थानीय डिजाइनर, मेक अप आर्टिष्ट र युवालाई प्लेटफर्म दिन यो कार्यक्रम गरिएको बताइन् ।
फेशन शोमा विशेष अतिथी एनआरएनए आईसीसी सदस्य शान्ति थापा कुँवर थिइन् भने अतिथिहरुमा मिस नेपाल यूके आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङ लगायत सहभागी थिए ।
श्रद्धा गुरुङले सञ्चालन गरेको उक्त शोमा जेनी सुनुवारले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।







