ढकाल चुनौती सामना गर्न सक्ने नेता

काठमाडौँ, ४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवा नेता रामनाथ ढकालले मुलुकमा भएका प्रजातान्त्रिक आन्दोलनमा देश र जनताप्रति बफादार रही ढकालले सङ्घर्षका हरेक मोर्चामा सहयोग पु-याएको बताउनुभएको छ । पूर्वसभासद् ढकालको १३औँ दिनको पुण्यतिथिमा आज पार्टी केन्द्रीय कार्यालय मदननगरमा एमाले राजधानी समन्वय कमिटीद्वारा आयोजित श्रद्धाञ्जलिसभामा नेता ओलीले ढकालको निष्ठापूर्ण आदर्शलाई पार्टीले निरन्तरता दिने बताउनुभयो ।
पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुलुकमा लोकतान्त्रिक पद्धति कायम गर्न उहाँले खेलेको भूमिका सदैव सराहनीय भएको बताउँदै देशमा चाँडोभन्दा चाँडो लोकतान्त्रिक संविधान जारी गर्न सकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विचार व्यक्त गर्नुभयो ।
पार्टी महासचिव ईश्वर पोखरेलले विभिन्न चुनौतीलाई सहज रुपमा लिएर सामना गर्न सक्ने नेताका रुपमा आफूले ढकाललाई पाएको बताउँदै विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उहाँले सङ्गठन सुदृढीकरणमा पु-याएको योगदान अविस्मरणीय हुने छ भन्नुभयो । कमिटीका अध्यक्ष सानुकुमार श्रेष्ठले देश तथा जनताका स्वतन्त्रताका लागि ढकालले ठूलो त्याग गरेको र उहाँको आदर्श अनुकरणीय रहेको बताउनुभयो । एमाले नेता एवं सभासद् डा राजन भट्टराईले ढकालको जन्मदेखि मृत्युसम्मका विभिन्न क्षण तथा राजनीतिक विकासमा योगदान पु-याएको बताउनुभयो । अर्का नेता एवम् ढकालका सहकर्मी विजय गुरुङले उहाँका विद्यार्थी जीवनका राजनीतिक गतिविधिबारेमा प्रकाश पार्नुभयो ।