लण्डन । नयाँ शक्ति यूकेको कार्यवाहक अध्यक्षमा चन्द्र गुरुङ चयन भएका छन् ।
आइतबार लण्डनको वुल्वीचमा बसेको कार्यसमितिको बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको हो । अध्यक्ष धन गुरुङलाई पार्टीले प्रवास समितिको संयोजक बनाएपछि आइएनएस बेलायतले कार्यवाहक अध्यक्ष चयन गरेको हो ।
एक व्यक्ति एक पद भन्ने पार्टीकै सिद्धान्तबमोजिम संगठनका अध्यक्ष प्रवास समितिमा संयोजक बनेपछि नयां कार्यवाहक अध्यक्ष चयन गरिएको कार्यसमितिका उपाध्यक्ष हेम गुरुङले लन्डन नेपाल न्यूज डट कमललाई जानकारी दिए ।
अध्यक्ष परिवर्तन भएपनि संगठनका अन्य पदाधिकारीहरुको जिम्मेवारी भने यथावत नै राखिएको छ ।
बैठकले क्यान्सर रिसर्च यूकेको सहयोगार्थ लण्डन म्याराथन दौडिने तयारीमा रहेका संगठनका सदस्य पाण्डव महतोलाई सहयोग गर्ने निर्णय गर्दै संगठनका पदाधिकारी तथा सदस्यहरुबाट केहि आर्थिक संकलन समेत गरेर सहयोग गरिएको छ ।
त्यस्तै, विपन्न परिवारका गोर्खाका एक व्यक्तिको उपचारका लागि समेत संगठनका सदस्यबाट अर्थ संकलन गरेर सहयोग गरिने भएको छ ।
सचिव सुरोज मास्केले सञ्चालन गरेको कार्यसमितिको बैठकको अध्यक्षता अध्यक्ष धन गुरुङले गरेका थिए । बैठकमा अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतका संस्थापक अध्यक्ष भोला खनाल, वर्तमान कार्यसमितिका उपाध्यक्षहरु डा दिलिपकुमार यादव, हेम गुरुङ र थमबहादुर विश्वकर्मा, सदस्यहरु कृष्ण गैरे, पाण्डव महतो,अनुपमा न्यौपाने, सकुन गुरुंग ,क्रान्ति मास्के लगायतको उपस्थिति थियो ।






