अब नेपाल एयरलाइन्सको टिकट अनलाइनमै किन्न पाइन्छः पर्यटनमन्त्री

????????????????????????????????????

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकरीले नेपाल एयरलाइन्सको टिकट अनलाइनमै किन्न पाउने व्यवस्था गर्न लागिएको बताएका छन् ।

पर्यटन मन्त्रालयले सय दिनमा गर्ने कामको सुची सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले अब छिट्टै अनलाइनबाटै नेपाल एयरलाइन्सको टिकट पाइने दाबी गरे ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने अन्य एअरलाइन्स नाफामा गइरहँदा नेपाल एअरलाइन्स भने अझै घाटामा सञ्चालित छ ।

टिकट होल्ड गरेर राख्ने तर अन्तमा विमान खाली उडाएर विदेशी एअरलाइन्सबाट कमिशन लिने प्रवृत्ति बढेको भन्दै यस विषयमा के हुन्छ भनी पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भने, ‘अब अनलाइन टिकेटिङको विकल्प छैन । सबैलाई खुल्ला रहने गरी अनलाइनमा टिकट हालिन्छ र सबैले किन्न सक्छन् । अब टिकट होल्ड गरेर खाली उड्ने दिन आउने छैन ।’

पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा मनत्रालयले १ सय दिन भित्र सम्पादित हुने प्रमुख कार्यहरु पनि सार्वजनिक गरिएको छ ।
मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधार, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण, नीतिगत तथा कानूनी सुधार र कार्य पद्धतिमा सुधार लगायत कार्यहरु सम्पन्न गर्ने गरी कामको प्राथमिकता निर्धारण गरेको छ ।

ऐतिहासिक महत्वको रानीपोखरीको पुनर्निमाणमा देखिएको विवाद समाधान गरि पोखरीभित्र रहेको यमलेश्वर मन्दिरको पुनर्निर्माण सय दिन भित्र सम्पन्न गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ । त्यसैगरी धरहराको पुनर्निर्माणमा मन्त्रालय र सरकार गम्भीर रहेको भन्दै धरहराको पुनर्निर्माणसम्बन्धि विवाद चाँडै समाधान हुने पनि बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलामा देखिएको विमान उड्ने र अवतरणमा देखिएको समस्या न्यूनिकरणका लागि आवश्यक व्यवस्था मिलाई कम्तिमा दैनिक २१ घण्टा संञ्चालन गर्ने, आन्तरिक उडानलाई अन्यत्र स्थानान्तरण गर्न काभ्रेपलाञ्चोकको ठूली चौरको साथै अन्य सम्भाव्य स्थानको अध्ययन गर्ने लगायत विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।

सय दिन भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी तय गर्नुको साथै सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको कोरियन कम्पनीसँगको दायित्व व्यवस्थापन गर्ने योजना मन्त्रालयले अगाडि सारेको छ । संस्कृति संरक्षण र प्रवद्र्धन, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाहरु संरक्षण, अभिलेखको डिजिटाईजेसन र सुदृढीकरण, संग्रहालयको निर्माण तथा व्यवस्थापन, पर्यटकीय तथ्यांक अद्यावधिक कार्य, दिगो पर्यटन व्यवस्थापन, पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता आदि विषयमा सय दिनभित्रै प्रभाव देखिने गरी काम गर्ने मन्त्रालयले दाबी गरेको छ ।

त्यसैगरी एकीकृत पर्यटन पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, हवाई उड्डयन सुरक्षा सुदृढीकरण, हवाई उद्योग व्यवस्थापन, प्राधिकरण सुदृढीकरण एवं विमानस्थल निर्माण सुधार र नेपाल वायुसेवा निगमको सुदृढीकरणका १८ वटा मुलभुत विषयलाई मन्त्रालयले एक सय दिन भित्र सम्पन्न गर्ने कार्ययोजनामा समावेश गरेको छ ।

कार्यक्रम कार्यान्वयन प्रभावकारीताका लागि विभिन्न विभाग एवं निकायहरुबाट सम्पादन हुने कामको अनुगमन मन्त्रालयको सम्बन्धित महाशाखाबाट गर्ने गरी महाशाखा र विभागीय प्रमुखलाई जिम्मा दिइएको छ । सय दिनमा सुधार हुन नसकेमा विभागीय प्रमुखलाई नयाँ व्यक्तिलाई कामको दिने पनि मन्त्री अधिकारीले बताए ।