एसिड कान्डविरुद्ध विद्यार्थी सडकमा

राजधानीको बसन्तपुरमा ट्युसन पढ्न गएकी छात्रामाथि आइतबार एसिड छ्यापिएको विरोधमा विद्यार्थीहरुले सोमबार प्रदर्शन गरेका छन् । नेक्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादी निकटको विद्यार्थी संगठनको अगुवाइमा घटनामा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।
बसन्तपुरबाट सुरु भएको विरोधजुलुस नयाँ सडक, रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड, भद्रकाली, सुन्धारा हुँदै पुनः बसन्तपुरमा पुगेका थियो । विरोधर्‍यालीमा राजधानीका झन्डै आधादर्जन विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।
उनीहरुले एसीड प्रहारबाट घाइते भएका छात्राद्धय संगीता मगर र सीमा बस्नेतको निःशुल्क उपचार गर्नुपर्ने, दोषीलाई फाँसी दिनुपर्नेलगायतका माग गरेका छन् ।राजधानीको बसन्तपुर झोंछेंस्थित ‘ए प्लस ट्युसन सेन्टर’मा ट्युसन पढ्न गएका संगीता र सीमामाथि आइतबार बिहान ६ बजे माक्स लगाएर गएको युवकले कक्षाकोठाभित्रै पसेर एसिड प्रहार गरेको थियो ।
एसिड प्रहारबाट घाइते भएकी सिमाको वीर अस्प्ताल र संगीताको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही ब्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको बताएको छ ।