काठमाडौं– माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । माओवादी निर्णयसँगै महरा सभामुख हुने निश्चित भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बिहान बसेको शीर्ष नेताहरुको बैठकले महराको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको केन्द्रकी प्रवक्ता पम्फा भुषालले बताइन्। सभामुख चयनका लागि शुक्रबार सूचना दर्ता र शनिबार प्रतिनिधिसभा बैठकमा निर्वाचन गर्ने कार्यक्रम छ।
सांसद महरा दाङ(२ बाट निर्वाचित भएका हुन्। उनी माओवादी शान्ति प्रकृयामा आएदेखि पटकपटक मन्त्री भइसकेका छन् । यसअघिको शेरबहादुर देउवाको सरकारमा समेत उनले उपप्रधान तथा परराष्ट्रमन्त्रीका रुपमा काम गरेका थिए ।






