काठमाडौं । राग रागिनी इण्टरटेन्टमेन्टको आयोजनामा सुशील चालिसेको मुक्तक संग्रह “गुराँसहरु पलाँसहरु” आज एक समारोहका बीच काठमाण्डौमा लोकार्पण गरियो । प्रमुख अतिथि साहित्य, कला संस्कृतिविद् एवं मुक्तककार चेतन कार्कीेले पुस्तक विमोचन गरे ।
उहाँले विमोचन गर्दै मुक्तककार सुशील चालिसेको मुक्तक विधामा भविष्य उज्वल रहेको बताउनुभयो ।
पुस्तकको समिक्षा गर्दै प्रा.डा. सनतकुमार वस्तीले मुक्तक विधा हेर्दा सरल भएतापनि लेखनको हिसाबले अति कठिन भएको बताए ।
उहाँले पुस्तकको समिक्षाका क्रममा मस्तिष्कबाट भन्दा हृदयबाट लेखिएका रचनाहरु उत्कृष्ठ हुने र सुशीलको लेखाईमा सम्भावनाहरु प्रशस्त रहेको बताउनुभयो साथै लेखाईको विषय चयनमा विविधता ल्याउनुपर्ने सुझाब दिए ।
गीतकार सुवासचन्द्र ढुंगेलले मुक्तककारको सकारात्मक सोच लेखाईमा पनि प्रतिविम्वित भएको बताउनु भयो । मुक्तककार सुशील चालिसेले दशकौंदेखिका आफ्ना मुक्तकहरुलाई पुस्तकको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो साथै आफू यस विधामा प्रारम्भिक चरणमा रहेको स्वीकार्दै भविष्यमा परिस्कृत रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरे ।
राग रागिनी इण्टरटेन्टमेन्टका कार्यवहाक अध्यक्ष अल्बर्ट बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोडर्न बोर्डिङ्ग माध्यमिक विद्यालय तथा यूनिभर्सल मोडर्न कलेजका प्राचार्य अनिल कसपालले आफ्नो स्वागत मन्तव्यका क्रममा विदेशमा बसेर पनि नेपाली भाषामा आफ्ना रचनालाई पुस्तकका रुपमा प्रस्तुत गर्नु आफ्नो देश प्रतिको माया भएको बताएका थिए ।






