सुर्खेत- कर्णाली प्रदेशको सुरक्षामा पूर्ण ग्यारेण्टी हुनुपर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।
शनिवार वीरेन्द्रनगरमा भएको ‘सडक सुरक्षा कार्यक्रम’ मा सम्बोधन गर्दै प्रदेशको शान्ति सुरक्षा विना कुनै विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए ।
‘विकास र सृद्धिका लागि सुरक्षा निकायले पूर्ण ग्यारेण्टी गर्न जरुरी छ,’ उनले भने, ‘प्रत्येक व्यक्तिमा सुरक्षित भएको महशुस गराउनु पर्छ ।’ व्यक्तिको सुरक्षा भएमात्र विकास र समृद्धिको पक्षमा अगाडि बढ्न सकिने उनको भनाई थियो ।
देशमा अहिले लगानिकर्ताको आकर्षण बढेको भन्दै सुरक्षा नभएकैले लगानि गर्न नसकेको अवस्था भएको बताए । यसरी लगानिकर्ताको सुरक्षा गर्न सके मात्र प्रदेशमा पूँजी भित्रिने उनको तर्क थियो ।
त्यस्तै देशको विकास नहुनुमा प्रमुख बाधक भ्रष्टाचार भएको भन्दै यसका लागि आफ्नो ठाउँबाट आजैबाट अन्त्य गर्नुपर्ने बताए ।
राज्यले जनताको सेवा गर्न खटाएको कर्मचारीले राष्ट्रसेवक भएर काम गर्नु समेत सुझाव दिए । ‘राष्ट्र सेवक भएर आफ्नो दायित्व पुरा गर्नुस्,’ उनले भने, ‘व्यक्तिगत फाइदामा मात्रै नलागेर सामुदायिक फाइदाका लागि काम गर्नुस् ।’
अबको दिनमा कर्णाली प्रदेशमा गुण्डागर्दी गर्नेको भविष्य नभएको बताएका छन् । अहिले जताततै दादागिरी र गुण्डागर्दी गर्नेहरु अव पत्ता साफ हुने बताए । अहिले प्रदेशको राजधानीमा लागुऔषध, घरेलु हिंसाका घटना बढ्दै गएको भन्दै यसलाई तत्काल रोक्न सुरक्षा निकायलाई निर्देशन दिए ।
आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले विकास र समृद्धिका लागि सुरक्षा महत्वपूर्ण भएको बताए । यसलाई नै मध्यनजर गरेर मन्त्रालयले सुरक्षा योजना अघि सारेको बताए । प्रदेशको विकासका लागि सुरक्षा आमनागरिकमा जरुरी रहेको बताए ।
त्यस्तै, प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले सडक प्रयोगकर्ता सुरक्षित हुनुपर्छ भन्दै त्यसका लागि प्रहरी लागि पर्ने बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको ४० बुँदे सुरक्षा योजना अन्तरगत सडक सुरक्षा कार्यक्रम गरिँदै आएको छ । कार्यक्रमममा विभिन्न मन्त्रालय, सरकारी कार्यालयका प्रमुख, लगाएत आमसर्वसाधारणको सहभागिता रहको थियो ।






