पार्टी एकता र समानुपातिक टुङ्ग्याउन एमाले बैठक

काठमाडौं– प्रतिनिधिसभामा समानुपातिकतर्फको उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक आइतबार बस्दैछ ।
पार्टीले पाएको सिट संख्यामा विजयी हुने उम्मेदवारको नाम प्रस्ताव गर्न निर्वाचन आयोगको पत्राचारपछि एमालेले स्थायी समिति बैठक बोलाएको हो ।

धुम्वाराहीस्थित पार्टी कार्यलयमा बिहान साढे ११ वजे बस्ने बैठकमा पार्टीको भागमा परेका सिट संख्यामा उम्मेदवार चयनसँगै अन्य विषयमा पनि छलफल हुने स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

निर्वाचन आयोगले शुक्रबार मतपरिणाम सार्वजनिक गर्दै उम्मेदवारको नाम प्रस्ताव गर्न दलहरुलाई पत्राचार गरेको थियो । समानुपातिक तर्फको १ सय १० सिटमा एमालेले ४१, कंग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टीले ६ र संघीय समाजबादी फोरमले ६ सिट पाएका छन् ।

निर्वाचन आयोगले माघ २९ सम्मको समयसीमा तोकेर बन्द सुची बुझाउन भनेको छ ।
यसैवीच स्थायी कमिटि बैठकमा पार्टी एकताका बारेमा भइरहेको ढिलाईका बारेमा पनि छलफल हुने एमालेले जनाएको छ । एमाले नेता सुवास नेम्वाङका अनुसार पार्टी एकतामा भइरहेको ढिलाइका बारेमा सर्वत्र चिन्ता र चासो उठेकाले एकतालाई कसरी चाडो टुङगो लगाउने भन्ने विषयमा पनि छलफल हुनेछ । शनिबार एमाले अध्यक्ष केपी ओली सहितका शीर्ष नेतहरुको छलफलमा पार्टी एकताका लागि नयाँ मोडालिटिबाट अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछोड्ने संकेत गरेपछि पार्टी एकतामा ढिलाइ भएको माओवादी पक्षले बताउदै आएको छ ।