सुरेश जोशी , लिस्बोन। । एनआरएनए पोर्तुगल प्रबक्ता नियुक्तिमा रस्साकस्सी चलिरहेको बेला एकजनाले नेपालबाट नेपाली काँग्रेसका एक केन्द्रीय नेतालाई आफुलाइ नियुक्ति दिनका लागि फोन गर्न लगाए पछि एनआरएनए पोर्तुगलभित्र खैलाबैला मच्चिएको छ। यस्तै पोर्तुगलमा रहेका प्रवासी राजनीतिक भातृ संगठनहरुबिच पनि आफ्नो दल निकटका व्यक्तिलाई प्रवक्ता चयन गर्न एन आर एन पोर्तुगलभित्र निकै नै कस्साकस्सी चलेको नाम उल्लेख नगरिदिने शर्तमा एक पदाधिकारीले बताए। अर्को एकजनाले भने लिस्बोनस्थित अबैतनिक नेपाली बाणिज्यदुत सामु आफुलाइ प्रबक्ताको लागि सिफारिस गरिदिनु पर्यो भनी बिन्ती चढाएको बिशेष श्रोतको दावी छ । विवादमा परिने भनेर उनको आग्रहलाई बाणिज्यदुतले सिधै अस्वीकार गरेको सुचना बिशेष श्रोतबाट प्राप्त भएको छ।
एनआरएनए पोर्तुगलको कार्यसमितिको अधिकारभित्र पहुचका आधारमा अन्य ठाउँबाट भनसुन गराउने कार्यले कार्यसमितिमा नै असहज बाताबरण सृजना हुने हुँदा कार्यसमिति वा सचिवालयले स्वतन्त्रढंगले उपयुक्त ब्यक्तिलाई प्रबक्ता चयन गरिने एन आर एन ए पोर्तुगलको दाबी छ । एन आर एन ए पोर्तुगलको सचिवालयको बैठक २१ जनवरी आईतबार बस्दैछ र सो बैठकको मुख्य एजेन्डा एनआरएनए पोर्तुगललाई कानुनसंगत दर्ता गराउने, पुरानो कार्यसमितिका ब्यक्तिहरुको नामबाट नयाँ कार्यसमितिका ब्यक्तिहरुको नाममा बैंक खाता परिवर्तन गर्ने र प्रबक्ता नियुक्ति गर्ने रहेको बुझिएको छ । विडम्बनाको कुरा के छ भने एन आर एन ए पोर्तुगल अहिलेसम्म पोर्तुगलमा कानुनी रुपमा दर्ता भएको छैन। प्रबक्ता पदका लागि पत्रकारहरु कमल बिष्ट, भगवान गिरी, प्रभात पौडेल आदिको चर्चा छ । कमल बिष्ट नेपाली कांग्रेस , भगवान गिरी एमाले र प्रभात पौडेल राप्रपा र कन्सुलेट निकट रहेको श्रोतको दाबी छ ।
प्रवक्ता पदका लागि होडबाजीमा रहेका व्यक्तिहरु आफूनिकट राजनीतिक संगठन र अग्रज व्यक्तिहरुबाट सोर्सफोर्सका लागि निकै दौडधुप गरिरहेको र अध्यक्ष कुबेर कार्कीलाई दबाब आएकोले संघभित्र ब्यापक असन्तुष्टि रहेको बुझिएको छ। यसघि प्रवक्ता वा मिडिया कोअर्डीनेटर पदका लागि पत्रकार गणेश पाण्डेयलाई गोप्यरुपमा अनुरोध गरिएतापनि आफू निर्वाचनमा पराजित भएकोले नैताकताले कुनै पनि पदमा बस्न नमिल्ने भन्दै ठाडै अस्विकार गरेको श्रोतको दाबी छ। पत्रकार पाण्डेयलाई संघको सल्लाहकारमा समेत बस्न अनुरोध आउदा पनि अस्विकार गर्दै संघलाई हरेक कार्यमा सहयोग गर्ने तर कुनै पनि पदमा नबस्ने जिकिर गरेको जानकारी बिशेष श्रोतबाट प्राप्त भएको छ।
समुदायका अग्रज व्यक्तित्वहरुले समाजमा परिचित, सक्रिय र मिडिया लगायत सबैसंग समन्वय गर्नसक्ने ब्यक्तिलाई प्रबक्ता चयनकालागि सार्वजनिक आह्वान पनि गरेका छन् । प्रवक्ता चयनको बिषयमा धेरै विवाद उत्पन्न भए सचिवालयकै पदाधिकारी मध्येबाट प्रवक्ता छानिने वा हाललाई स्थगित राख्ने सम्भावना समेत उत्तिकै रहेको छ।






