नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले नेपालमा समाजवादी व्यवस्था लागु गर्ने हो भने वामपन्थीहरुको सत्ता अनिवार्य भएको बताउनु भएको छ । वाम प्रगतिशील गठबन्धन काठमाडौँ क्षेत्र नम्बर सातको निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै उहाँले बाम गठबन्धनको जित आवश्यक रहेको बताउनु भएको हो ।
‘कम्युनिष्टहरुले सत्ता सञ्चालन गर्न सकेनन् नसके यहाँ दलाल पुँजिपतिहरुको हैकम चल्छ, यो निर्वाचन पुँजिपति वर्गले राज्य सञ्चालन गर्ने कि श्रमजिवीवर्गको हितमा काम गर्नेले भन्ने बीचको अर्थात वर्गसंघर्षको लडाईँ पनि हो ।’ उहाको भनाई थियो । उपाध्यक्ष ज्ञवालीले यो वर्गसंघर्षको लडाईँ कार्यकर्तालाई हातमा बन्दुक नदिई लड्ने लडाई भएको समेत बताउनु भयो ।
बाम गठबन्धनका क्षेत्र नम्बर–सातका प्रत्यक्षतर्फका उम्मेदवार रामवीर मानन्धरले केही दिनमा नै वाम गठबन्धन विजयी भएपछि ऐतिहासिक सरकार बन्ने र त्यो सरकारले पाँच वर्षमा देशको मुहार फेर्ने दावी गर्नुभयो । उहाँले वाम एकताको सबै भन्दा वढी प्रचारक कांग्रेस नै भएको पनि दाबी गर्नुभयो । ‘अहिले कांग्रेसले वामपन्थीहरुले जिते भने नेपालमा चीन वा उत्तर कोरियाको शासन लागु हुन्छ भनेर हौवा फैलाएको छ,’ ‘नेपाल नेपाल नै बन्छ, दक्षिणपन्थीहरुको स्वभाव नै गलत प्रचार गर्ने हो, मानन्धरको भनाई छ ।
कम्युनिष्टहरुले राज्य संञ्चालन गर्न पाए भने देशको मुहार फेर्न सक्छन् भनेर २०५१ सालमा एमालेले दिइसकेको छ ।’ ‘म प्रधानमन्त्रीजीलाई नेपालको संविधान राम्रोसँग पढ्न आग्रह गर्छु, हामीले संविधानलाई कार्यान्वयन गर्ने हो, मानन्धरको भनाई थियो ।






