भक्तपुर- भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दमननाथ ढुंगानाले आफू पाहुना उम्मेदवार नभएको प्रष्ट पारेका छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सभामुख समेत रहेका ढुंगानाले भक्तपुरमा आफनो राजनीतिक लगानी भएको भन्दै यस्तो स्पष्ट पारेका हुन् ।
‘कुचो लिएर राजनीति कुचिकार बन्दै भक्तपुरमा उम्मेदवारी दिएको हुँ’, ढुंगानाले भने, ‘यहाँबाट निर्वाचन जितेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ विशिष्ट परिस्थितिलाई ध्यानमा राखेर पार्टीले आफूलाई उम्मेदवारी दिएको उनले बताए ।
प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले काठमाडौ २ बाट उम्मेदवार बन्न आग्रह गरेता पनि आफूले नै भक्तपुर २ रोजेर आएको उनले बताए । करिब २३ वर्षपछि राजनीतिमा आउनुको कारण देशमा अहिले देखिएको राजनीतिक फोहोर सफा गर्नु नै रहेको उनले बताए ।
‘आफ्नै उम्मेद्वार उठाएको नेमकिपाले काँग्रेसलाई किन मतदान गर्छ’, नेमकिपाको समर्थनमा उम्मेद्वारी दिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा ढुंगानाले अगाडि भने, ‘नारायणमानजी मेरो साथी मात्र हो । राजनीतिक हिसाबमा हामी फरक छौँ ।’
यस्तै, एमालेका उम्मेदवार महेश बस्नेतले राजधानी नजिकैको जिल्ला भएर पनि भक्तपुर विकास निर्माणमा बत्तीमुनिको अध्यारो जस्तै भएको बताए । भक्तपुरको समग्र विकासका लागि एमाले नै सक्रिय भइरहेकाले आगामी निर्वाचनमा पनि एमालेलाई विजयी गराउन मतदाताहरुलाई उनले अनुरोध समेत गरे ।






