एनआरएन अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

काठमाडौं– गैरआवासिय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालको अध्यक्ष पदमा भवन भट्टले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

हाल एनआरएनएका वरिष्ठ उपाध्यक्ष भट्टले राजधानीमा शनिबार पत्रकार सम्मेलन गरी उनले उम्मेदवारीको घोषणा गरेका हुन् । भट्टले उम्मेदवारी घोषणा कार्यक्रममा केही नयाँ एजेन्डाहरु अघि सारेका छन् । वैदेशिक रोजगारी आपतकालिन कोषलाई सदुपयोग गरी गैर आवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बीमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने लगायतका एजेन्डा उनले अघि सारेका छन् ।

स्मार्ट एनआरएन बनाउने, सामाजिक उद्यमशीतालाई प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता वृद्धि गरिने लगायत घोषणा भट्टले गरेका छन् । लाप्राक नमुना वस्ती, एनआरएनए भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, वैदेशिक रोजगार कोषको विस्तार जस्ता कार्यक्रमहरुलाई पूर्ण रुपमा निरन्तरता दिने उनको घोषणा छ ।