प्रश्नावलीको काम अन्तिम चरणमा

प्रस्ताव निर्माण समितिअन्तर्गत गठित उपसमितिले प्रश्नावली बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको छ । आठवटा विषयमध्ये दलहरुबीच सबभन्दा बढी विवादित विषय राज्यको पुनसंरचनासम्बन्धी प्रश्न बनाउने काम बाँकी रहेको उपसमिति सदस्य कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सिंहदरबारमा बस्ने उपसमिति बैठकमा राज्य पुनसंरचनाको प्रश्नावली बनाउन सुरु हुनेछ । अहिलेसम्म संविधानको प्रस्तावना, संविधान संशोधन, शासकीय स्वरुप, मौलिक अधिकार, न्यायप्रणाली, निर्वाचन प्रणाली, व्यवस्थापकीय अंगसम्बन्धी ७ वटा विषयमा प्रश्न बनिसकेका छन् । उपसमितिको बिहानको बैठकले राज्य पुनसंरचनाको प्रश्नावली बनाउने काम सकिएमा दिउँसो ३ बजे बस्ने प्रस्ताव निर्माण समिति बैठकमा पेश गर्ने खड्काले बताउनुभयो । उपसमिति संयोजक एवं एमाले सभासद् अग्नि खरेलले संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल, सभासद्हरुले व्यक्त गरेको धारणा, औपचारिक तथा अनौपचारिक रुपमा आएका विभिन्न सरोकार भएका व्यक्ति तथा निकायको मतलाई केन्द्रमा राखेर प्रश्नावली बनाइरहेको बताउनुभयो । प्रस्ताव समितिले अघिल्लो ५ दिनको समयमा काम पूरा गर्न नसकेपछि एकीकृत माओवादी मोर्चाको बहिष्कार र राप्रपा नेपालको नाराबाजीकाबीच २२ गते बसेको संविधानसभा बैठकले थप ५ दिन समय दिएको थियो । एकीकृत माओवादीसहित १८ दलीय मोर्चा प्रक्रिया रोक्नुपर्ने र राप्रपा नेपाल धर्मनिरपेक्षता, गणतन्त्रजस्ता विषयमा छलफल गर्न नदिइएको भन्दै असन्तुष्ट छन् ।