राजधानीको ठमेलस्थित भगवान बहालअगाडिको करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीमा छाँयादेवी कम्प्लेक्स बनेकोमा स्थानीय ठमेलबासीहरुले आक्रोश जनाएका छन् । ठमेलको थँ वहिल अर्थात् विक्रमशील महाविहारका स्थानीय प्रधानहरुले सर्वोच्च अदालतमा महाविहारको गुठी सम्पत्तिको रुपमा रहेको पुरातात्विक महत्वको कमलपोखरीको रक्षार्थ मुद्दा दायर गरेपछि अहिले छाँयादेवी कम्प्लेक्सको निर्माण कार्य रोकिएको हो ।
यही थँ वहिल विक्रमशील महाविहारको ऐतिहासिक कमलपोखरीको विषयमा स्थानीय भागवतनरसिंह प्रधानद्धारा अनुसन्धान गरी तयार पारिएको पुस्तकको शनिबार भगवान बहालमा विमोचन गरियो । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले उक्त पुस्तक विमोचन गरेका हुन् ।
विमोचन समारोहमा बोल्दै वैद्यले यस्ता थुप्रै ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागि संघर्ष आवश्यक भएको बताए । उनले अहिले बन्न लागेको संविधान देश र जनताको हीतमा नभएको भन्दै उत्पीडित जातीय पहिचानसहितको संघीयताका लागि आफ्नो पार्टी संघर्षरत रहेको जिकिर गरे ।
पहिचानसहितको संघीयताका लागि संघर्ष : वैद्य






