भारतीय व्यापारीले नेपालीलाई कुटेपछि स्थानीयद्वारा सीमा नाका ठप्प

कन्चनपुर । कैलाली कन्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले बिहीबार (आज) कुटपिट गरेका छन् ।

स्थानीयवासी सीता शाहलाई भारतीय व्यापारीले दुव्र्यवहार गर्न थालेपछि बचाउका लागि गएका विकमाथि कुटपिट गरेकाले स्थानीयवासीले सीमा नाका ठप्प पारेका छन् ।

घटनाको विरोध गर्दै डोकेबजार र गौरीफण्टा नाकाको यातायात सेवा अनिश्चितकालका लागि स्थानीयवासीले ठप्प पारेको डोकेबजार प्रहरी चौकीका प्रमुख मदनसिंह धामीले बताए । कुटपिटमा संलग्न भारतीय व्यापारीमाथि स्थानीयवासीले कारबाहीको माग गरेका छन् ।

विवाद साम्य पार्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय प्रहरी, भारतीय सीमा सुरक्षा बलका अधिकारी र नेपाल–भारतका व्यापारीबीच छलफल भइरहेको छ । रासस